“घरमै बसेर सानोतिनो काटेको घाउ निको पार्न सकिने!!”

-कुशल श्रेष्ठ

छाला, हाम्रो शरीरको सबैभन्दा ठूलो र संवेदनशील अङ्ग हो, यसको स्याहार र ख्याल गर्नु भनेको हाम्रो आफ्नै स्वास्थ्यलाई ख्याल गर्नु हो। जब हाम्रो छालामा कुनै धारीलो हतियारले काटेर घाउ हुन्छ, तब हाम्रो शरीरमा जटिल किसिमको जैविक रसायनिक प्रतिक्रिया हुने गर्दछ, जसले त्यो घाउलाई सकेसम्म चाँडै निको पार्न लागि पर्दछ। हर्बल एन्टिसेप्टिक जस्ता प्राकृतिक वस्तुहरू प्रयोग गरेर घाउलाई उपचार गर्नाले हाम्रो शरीरले त्यो घाउलाई कुनै खत नबसाई छिटो निको पार्ने प्रक्रियामा तीव्रता आउँदछ।

कतिपय व्यक्तिहरूले काटेको घाउलाई हेलचेक्र्याईँ गर्ने गर्छन् र त्यो घाउले ठूलो रूप लिई अस्पताल धाउनुपर्ने हुन्छ, जसले समय र पैसाको बिनासित्तिमा खर्च गराउँदछ। त्यसैले आज हामी तपाईँहरूलाई काटेको घाउलाई घरमै बसेर सुरक्षित तरिकाले कसरी निको पार्ने भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ, ताकी तपाईँको स्वास्थ्य, समय र पैसाको नास नहोस्!Heal Cut Fast (1)

काटेको घाउलाई निम्न तरिकाले उपचार गर्न सकिन्छ-

१. काटेको ठाउँ सफा गर्ने

काटेको घाउ कत्तिको गहिरो छ भनेर थाहा भएपछि मात्रै उपचार गर्ने तयारी गर्नुहोस्। घाउ ठूलो र गहिरो छ अनि रगत रोक्किने तरखर गर्दैन भने तुरुन्त नजिकको स्वास्थ्य चौकी जानु उपयुक्त हुन्छ, किनभने ठूलो घाउलाई जानी नजानी उपचार गर्ने कोसिस गर्दा त्यसले झन् समस्या थप्न सक्छ।

घाउ खतरनाक छ कि छैन र स्वास्थ्य चौकी जानु पर्ने अवस्था छ कि छैन भनेर यसरी चिन्नुहोस्-
  • घाउबाट रातो नानी मासु वा पहेँलो बोसोको तन्तु देखिएको छ भने
  • घाउमा औँलाले हलुका थिच्नुहोस् र एकछिन पछि औँला झिक्दा पनि घाउको मुख टाल्लिएको छैन भने
  • जोर्नी नजिक काटेको छ भने वा टाँका नलगाई नटाल्लिने ठाउँमा छ भने
  • रगत धेरै बगेको छ भने वा ५ मिनेटको दबाबपछि पनि रगत रोक्किँदैन भने
  • कहिलेकाहीँ रगतको नसा काट्टिएको पनि हुन सक्छ, त्यस्तो बेला रगत बग्ने गति एकदम छिटो हुन्छ र अत्याधिक दुखाई हुन्छ, त्यस्तो अवस्था छ भने पनि तुरुन्त स्वास्थ्य चौकी धाउनुमै उचित हुन्छ।
तर यदि घाउ सामान्य छ र आफैले प्राथमिक उपचार गर्न सकिन्छ भने-
क. हात धुनुहोस्- Heal Cut Fast

घाउलाई उपचार गर्नुभन्दा अगाडि जहिले पनि साबुन पानीले हात धुनुहोस् र सफा रुमालले पुछ्नुहोस्, किनभने काटेको घाउमा साबुनपानी पर्यो भने जलन हुन्छ र घाउ निको हुने प्रक्रियामा ढिलाई हुन सक्छ। हात धुँदा सकेसम्म मनतातो पानीले धुनुहोस्, त्यस्तो गर्न नमिल्ने अवस्था छ भने, सफा पानीले धुँदा पनि हुन्छ र जे गरे पनि घाउमा साबुनपानी नपार्नुहोस्।

ख. रगत बग्न नदिनुहोस्-Heal Cut Fast (2)
  • काटेको ठाउँबाट धेरै रगत बग्न नदिनुहोस् ताकी हाम्रो प्रतिरक्षा प्रणालीले सकेसम्म चाँडै घाउ निको पार्न सुरु गरोस्।
  • काटेको ठाउँलाई मुटुको उचाईभन्दा माथि पारेर त्यसमा सफा कपासको रुइ राख्नुहोस् र घाउ हेरेर ५ देखि १० मिनेटसम्म हलुका दवाव दिनुहोस्।
  • धेरै दवाव दिँदा पनि घाउभित्रको तन्तुहरू मर्न सक्छ, त्यसैले हलुका मात्र थिच्नुहोस्।
  • कपासबाट रगत पार हुन थालेपछि, फेरी अर्को कपासको टुक्रा राख्नुहोस् ताकी रगत जम्न सकोस्।
  • रगत बग्न छाडेन भन्दैमा जथाभावी दवाव नदिनुहोस्, त्यसले गर्दा अवस्था झन् बिग्रँदै जान सक्छ, बरु तुरुन्तै स्वास्थ्य चौकी गइहाल्नुहोस्।
ग. घाउलाई बगेको पानीमा पखाल्नुहोस्-Heal Cut Fast (3)

काटेको घाउलाई धाराबाट बगेको चीसो पानीमा पखाल्नुहोस्। केहि मिनेटको लागि यसरी पखाल्नाले , घाउ वरिपरि हुन सक्ने सङ्क्रमणबाट बच्न सकिन्छ। कुनै कुनै सानितिनो घाउ त यसरी पखाल्नाले पनि चाँडै निको हुने गर्दछ।

  • अझ मिल्छ भने, सलाइन पानीले पखाल्दा पनि घाउ निको हुने प्रक्रियामा तिव्रता आउँदछ।
घ. आयोडिन र हाइड्रोजन पेरक्साइड नलगाउनुहोस्-Heal Cut Fast (4)

धेरैको मान्यता के छ भन्दा हाइड्रोजन पेरक्साइड लगाउनाले घाउ निको हुन्छ भनेर, तर त्यसले ब्याक्टेरियालाई मार्नुको सट्टा शरीरले प्राकृतिक रूपमा निको पार्ने प्रक्रियालाई रोक्ने गर्दछ र घाउमा जलन बढी हुने गर्दछ।

आयोडिन मिश्रणको प्रयोगले पनि घाउलाई दुखाउँदछ, त्यसैले उचित यही हुन्छ कि पानी वा सलाइन पानीले नै पखाल्नुहोस्।

२. काटेको घाउमा पट्टी लगाउने

घाउलाई सही तरिकाले सफा गरिसकेपछि, त्यसमा पट्टी लगाएर बाहिरी सङ्क्रमणबाट बचाउनुपर्ने हुन्छ। तर सिधै पट्टी लगाउनाले घाउनिरको भागको तापक्रम बढेर पाक्न पनि सक्छ। त्यसैले-

क. प्राकृतिक एन्टिसेप्टिकको प्रयोग गर्नुहोस्-

घाउ चाँडै निको पार्ने प्राकृतिक तत्व भनेको ‘एन्टिमाइक्रोबायल’ (Antimicrobial) हो र यसले घाउ निको हुने प्रक्रियाको गतिमा तीव्रता ल्याउँदछ र सङ्क्रमणबाट पनि बचाउँदछ। प्राकृतिक रूपमा एन्टिमाइक्रोबायल हुने घरेलु जडिबुटीहरू थुप्रै हुन्छन्, तीमध्ये-

  • गोदावरी फूलः सुन्तला रङ्गको गोदावरी फूलले पनि प्राकृतिक एन्टिसेप्टिकको काम गर्दछ। त्यसैले उक्त फूलको रस वा जेल लगाएर पट्टी लगाउँदा पनि घाउ छिटो निको हुन्छ।

Calendula Flower

  • चियाको पातः अवस्था उचित छ भने, चियाको मुनालाई थिचेर त्यसको रसलाई घाउमा लगाउनाले पनि एन्टिसेप्टिकको काम गर्दछ, तर धेरै लगाउनुभने हुँदैन। घाउ हेरेर, साधारण घाउमा ४-५ थोपा लगाउँदा उचित हुन्छ।

Green Tea Leaf

  • घिउकुमारीः घिउकुमारीको पातको भित्रपट्टीको जेलमा प्रशस्त एन्टिमाइक्रोबायल पाइन्छ, र काटेको घाउमा घिउकुमारीको जेल हलुका रूपमा लगाउँदा, त्यसले घाउको दुखाइ, जलन र पीडालाई कम गर्दछ र निको हुन मद्दत पुर्याउँदछ।

Aloe Vera

  • महः भनिन्छ, शुद्ध माहुरीको मह अमृत सरह हुन्छ। हुन पनि हो, काटेको ठाउँमा यसको प्रयोगले घाउ निको हुने प्रक्रिया ३० प्रतिशतले बढ्दछ। तर मह लगाइसकेपछि, उक्त घाउलाई धुँवा र धुलो आउने ठाउँमा प्रदर्शन गरेर राख्नुभने हुँदैन।

Honey

ख. अब पट्टी लगाएर घाउलाई ढाक्नुहोस्-Heal Cut Fast (5)
  • घाउ सफा गरेर त्यसमा प्राकृतिक एन्टिसेप्टिकको प्रयोग गरिसकेपछि सफा उनीको पट्टी लगाउनुहोस् र पट्टी फुस्किन नदिन मेडिकल टेप लगाउनुहोस्।
  • अर्को दिन घाउलाई फेरि सफा गर्नुपरेमा, चिसो पानी अथवा सलाइनको मिश्रणले पखाल्नुहोस् र माथिकै प्रक्रिया दोहोर्याउनुहोस्।
  • घाउमा खाटा बस्न लागेको छ भने नउक्काउनुहोस्, त्यसलाई स्वतः झर्न दिनुहोस्। शरीरले आफ्नो काम आफै गर्नेछ, हामीले त केवल निको पार्न मद्दत मात्र गर्ने हो।
  • नबिर्सिनुहोस्, घाउ सफा गर्नुभन्दा अगाडि र घाउ सफा गरिसकेपछि जहिले साबुन पानीले हात धुनुहोस् र सफा रुमालले पुछ्नुहोस्।
३. खानेकुरामा ध्यान दिनुहोस्-

उपचार गरेर मात्र, औषधी खाएर मात्र अनि सफा गरेर मात्र घाउ सफा हुन्छ भन्ने मान्यता छ भने आजैदेखि हटाउनुहोस्। किनभने, तपाईँले खानामा के खानुहुन्छ, त्यसको प्रत्यक्ष असर तपाईँको घाउमा पनि परिरहेको हुन्छ। त्यसैले शरीरमा कुनै घाउ वा काटेको छ भने खानपिनमा एकदमै ध्यान दिनुपर्ने हुन्छ, हेलचेक्र्याईँ गरेर त्यो घाउले भयङ्कर रूप लिन सक्छ र अघि भनेझैँ समय, स्वास्थ्य र पैसाको बेकार नास मात्र हुन्छ।

त्यसो भए, कस्तो प्रकारको भोजन गर्ने त?
क. प्रोटिन र भिटामिन युक्त खानेकुराहरू खानुहोस्-Heal Cut Fast (6)

काटेको वा पोलेको घाउलाई निको गराउने सबैभन्दा उपयुक्त उपाय भनेकै प्रोटिन र भिटामिन भएको खानेकुरा खानु हो। अझ, भिटामिन र प्रोटिनले त तपाईँको छालालाई स्वस्थ पनि बनाउँदछ, प्रतिरक्षा प्रणालीलाई बलियो बनाइराख्दछ र कुनै पनि घाउ अथवा चोटपटक लाग्दा चाँडै नै निको हुन्छ।

जिङ्क भएको खानेकुराले पनि घाउ निको हुन मद्दत पुर्याउँदछ। यदि तपाईँको शरीरमा चाहिने प्रोटिन जस्ता पोषण तत्वको कमी छ भने त्यो घाउ निको हुन सामान्य भन्दा धेरै समय लाग्न सक्छ र सङ्क्रमण पनि अरूभन्दा धेरै नै हुन्छ।

कुन कुन खानेकुरामा प्रोटिन, भिटामिन र जिङ्क हुन्छ त?
  • प्रोटिनः माछा, मासु, अण्डाको सेतो भाग, दही र गेडागुडी
  • भिटामिन सीः अमिलो फलफूल, फर्सी, कुपिण्डो, आँप, भुँइकटहर, ब्रोकाउली, काउली
  • भिटामिन एः दूध, फलमासु, चिज
  • भिटामिन डीः दूध, बोसोयुक्त माछाको मासु, अण्डा, चिज, कलेजो
  • भिटामिन ईः कटुस, गेडागुडी, बदाम, हरीयो सागपात, ब्रोकाउली
  • जिङ्कः मासु, गेडागुडी, चामल
ख. प्रशस्त पानी पिउनुहोस्-Heal Cut Fast (7)

शरीरमा भएका घाउ अथवा चोटपटक चाँडै निको हुनको लागि पानीको मात्रा बढी नै हुनुपर्छ। तर धेरै पिउने भन्दैमा पुरानो मिथक कुरा (दिनमा ८ गिलास पानी पिउनै पर्छ) लाई पनि पछ्याउनु पनि गल्ती हुन जान्छ। किनभने, शरीरलाई चाहिने भन्दा धेरै पानी भयो भने मृगौलालाई बढी चाप पर्दछ र पुरानो उखान “चोक्टा खान गको बुढी झोलमा डुबेर मरी” भने जस्तै पनि हुन सक्छ।

अन्त्यमा, धारिलो हातहतियारलाई सुरक्षितसाथ र ध्यानपूर्वक चलाउनुहोस्, अझै मिल्छ भने त चलाउँदै नचलाउनुहोस्। कतै जानि नजानी चोटपटक लागेमा त्यसलाई राम्ररी स्याहार गर्नुहोस्, सकेसम्म स्वास्थ्य चौकी जानुहोस्।

आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नुहोस्, स्वस्थ रहनुहोस्!!