बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको चुनावी चलहपहल ह्वात्तै बढेको छ । उम्मेदवारहरु भोटमाग्न मतदाताको घरघर धाइरहेका छन् । यसैसन्दर्भमा हामीले सबैभन्दा धेरै मतदाता र उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिकाका केही उम्मेदवारसँग उनीहरुको चुनावी एजेण्डा र चुनावी गतिविधिका बारेमा कुराकानी गरेका छौं ।

राप्रपा र एमालेले एकले अर्कोलाई कसरी भोट हाल्छन् ?

राजुराज जोशी (कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार)

चुनावी मैदानमा हुनुहुन्छ होला, के के गर्दै हुनुहुन्छ ?

समय थोरै छ । मतदाताको घरघरमा पुग्नुछ । भोट माग्न साथीहरुलाई पनि लगाएको छु । म पनि लागिरहेको छु ।

माहौल कस्तो देख्नु भाछ ?

राम्रो देखिराछु । मतदाता उत्साहित छन् ।

के भनेर भोट माग्दै हुनुहुन्छ ?

नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले गरेको इतिहास, संविधान निर्माणमा निर्वाह गरेको भूमिका अनि मेरो घोषणा पत्रमा आधारित भएर भोट माग्दैछु ।

के छ तपाईको घोषणा पत्रमा ?

शुरुमा धुलो हटाउने काम गर्छु । ट्राफिक जाम हटाउन मेट्रो सञ्चालन गर्छु । ५ वर्ष भित्रमा सरकारी स्कुलको मापदण्ड बोडिङ सरह बनाउँछु । ३२ सै वडामा रहेको सार्वजनिक जग्गालाई सार्वजनिक पार्क बनाउँछु । विष्णुमती, बाग्मती र सडक पेटीमा रुख रोपेर हरियाली बनाउँछु । पाँच वर्ष भित्रमा फ्रि वाइफाइको घोषणा गरेको छु ।

ट्राफिक जाम र धुलो हटाउन पाँच वर्ष लाग्ला र ?

ट्राफिक जाम त ठूलो समस्या हो नि । पैसा भएपछि मान्छेले गाडि किनिहाल्छन् । गाडी नकिन भनेर भन्न पनि मिलेन । बाटो फराकिलो बनाएर मात्र हुन्न । त्यसका लागि उचित मुआब्जा दिनुपर्छ । मेट्रो बनाउन त पाँच वर्ष लागिहाल्छ नि ।
मतदाता के चाहेका रहेछन् ?

पहिलोको जस्तो विजुलीको समस्या त छैन तैपनि पानी र विजुलीको दिर्घकालिन समाधान । भ्रष्टाचारमुक्त समाज चाहेका छन् ।

जित्ने आधार कत्तिको देख्नु भएको छ ।

जित्ने त निश्चित नै छ । हाम्रो ५० हजार भोट पहिले नै थियो । अहिलेपनि त्योभन्दा कम हुँदैन । किनभने महिलाको उम्मेदवार पनि छैन । अनि दक्षिणपन्थी र बामपन्थी मिलेका छन् । राजावादीले गाण्तन्त्रवादीलाई र गणतन्त्रवादीले राजावादीलाई कसरी भोट हाल्छन् ? एउटाले धर्मलाई अफिम ठान्छ, अर्कोले राजतन्त्र नभई हुँदैन भन्छ । त्यस्तो अवस्थामा एकले अर्कोलाई कसरी भोट हाल्छन् ? भोट खल्तीको नोट त हैन नि । एमाले र राप्राको गठबन्धनले हामीलाई केही असर गर्दैन । त्यो माथिल्लो तहमा बनेको हो । तल्लो तहमा छैन ।

काठमाण्डौ महानगरपालिकामा तपाईले देखेको तपाई बाहेकको योग्य उम्मेदवार को हो ?

मैले त मभन्दा योग्य उम्मेदवार अरु कोही देखेकै छैन । मैले राजनीतिमा ३९ वर्ष विताएको छु । एम बी ए पढेको छु । सत्याग्रह र एक वर्ष जेल बसेको छु । काठमाडौं बाहिरका चौकीमा पनि समय कटाएको छु । म इन्टरन्यास्नल युनियन अफ सोसलिष्टको उपसभापति भइसकेको छु । जिल्ला सचिव भएर हाँकीसके । मभन्दा योग्य उम्मेदवार को हुन्छ अरु ?
अहिलेको जमानामा पनि तपाई सत्याग्रह र जेल बसेकोलाई आफ्नो प्लस प्याइन्ट मान्नुहुन्छ ?

हो त । तपाई केलाई योग्य ठान्नुहुन्छ ? म बच्चाहरुलाई पनि योग्य देख्दिन, रिटायरहरुलाई पनि योग्य देख्दिन । मेरो प्रतिपक्षी कोही छैन । चुनाव भनेको जोक गर्न आउने वा एनजिओ चलाउन आउने ठाउँ त हैन नि ।

 

गाईलाई भोट माग्न अप्ठ्यारै परेको छ

विद्यासुन्दर शाक्य (एमालेको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार)

कत्तिको व्यस्त हुनुहुन्छ ?

समय निक्कै थोरै छ । गर्नु पर्ने र भेट्नु पर्ने मतदाता धेरै छन् । त्यसैमा लागिरहेको छु ।
कसरी भोट माग्दै हुनुहुन्छ ?

चुनावी सभा, घरदैलो र तपाईहरुको जस्तो मिडिया मार्फत मतदाताको बीचमा पुग्ने कोसिस गर्दैछु ।
के भनेर भोट मागिरहनु भएको छ ?

राष्टियताको सवालमा नेकपा एमाले जस्तो अब्बल पार्टी अरु कोही छैन । राष्टिय एजेण्डामा एमाले मात्र एक्लो पार्टी बनेको छ । नेपाल र नेपालीको स्वाभिमानको लागि लड्ने पार्टी भनेर चिनिएको छ । महानगरलाई साँच्च्ीकै सुन्दर र जिवन्त महनगर बनाउने पार्टी एमाले मात्र हो भनेर भोट मागिरहेको छु ।

त्यसका लागि के छन् तपाईका योजना ?

योजना थुप्रै छन् । अहिले केही जल्दाबल्दा समस्या उठाएको छु । जस्तो ट्राफिक व्यवस्थापन, मास र्यापिड ट्रान्सपोर्ट र बस र्यापिड सिस्टर बस सिटि बसको विकास गर्छु । स्मार्ट र डिजिटल पार्किङ सिस्टमको विकास गरी जाम हटाउने र सडकमा पार्किङ गर्ने कामलाई व्यवस्थापन गर्छु । प्रशासन संयन्त्रलाई व्यवस्थित र पारदशी बनाउँछु, फोहर मैला व्यवस्थित गर्छु र बु्रमर मार्फत सडक सफा गर्छु । खोलामा सिधै ढल पठाउने कामलाई निधेष गर्छु । खोला वारीपरि हरियाली व्यवस्थापन गर्छु । युवाहरुका लागि स्मार्ट युथ पार्क बनाउँछु ।

भोट माग्दा आफूलाई माग्नु भएको छ कि उपप्रमुखलाई पनि ?

१९ गते अघिसम्म मलाई मात्र मागेको थिएँ । अहिले उपप्रमुखमा राप्रपालाई र बाँकी सबै स्थानमा एमालेलाई मात्र मागेको छु ।

गाईलाई भोट माग्दा कत्तिको गाह्रो हुने रहेछ ?

अप्ठ्यारो परेकै छ । तर पनि एउटा भोट राप्रपालाई पनि दिनुस है भनेर माग्नु परेको छ । पार्टीको निर्देशन मान्नै पर्यो ।

भोट माग्दा र पार्टीको सिद्धान्त र दर्शनलाई बिर्सनुहुन्छ होला है ?

चुनाव हो । पार्टीको आफ्नौ सिद्धान्त नीति र विचार छ । यो सहकार्य मात्र हो । राप्रपाको आफ्नै सिद्धान्त र विचार छ हाम्रो आफ्नै । हिजोसम्म त्यही राप्रपा सरकारमा रहँदासम्म कांग्रेस र माओवादीलाई ठिक अहिले एमालेले चुनावी तालमेल गर्दा बेठिक भन्न त मिल्दैन नि ।

तपाईको नजरमा तपाईले देखेको योग्य उम्मेदवार को हो ?
व्यक्तिगत रुपमा कसैको टिकाटिप्पणी गर्न चाहन्न । पार्टीगत रुपमा नेपाली कांग्रेस हो ।

 

हावामा पानी जहाज उड्दैन

सुशिला पौडेल (माओवादी केन्द्रबाट काठमाडौं महानगर उपप्रमुखकी उम्मेदवार)

छोटो समय छ मतदाताकै बीचमा हुनुहुन्छ । के भनेर भोट माग्दै हुनुहुन्छ ?

स्थानीय चुनाव हिजोको जस्तो होइन । देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था संविधानले ग्यारेन्टी गरिसकेको छ । त्यसको रक्षा र कार्यान्वयनका लागि हामीलाई भोट दिनुहोस् । हामीलाई भोट दिए काठमाण्डौ महानगरलाई स्मार्ट शहर बनाउने छौं भनेर भोट मागिरहेको छु ।

मतदाताको उत्साह कस्तो छ ?

एकदमै राम्रो छ । जसको नीति उस्कै नेतृत्व हुनुपर्छ भन्ने विचार जनतामा छ ।

काठमाण्डौमा त तालमेल भएन । तालमेल गरेको भए त तपाईलाई जित्न सजिलो हुन्थ्यो होला नि ?

मेरो व्यत्तिगत चाहनाले हुँदैन । मैले जित्नु भनेको मेरो टिम र पार्टीले जित्नु हो । म एउटा पात्र हुन सक्छु । मेरो व्यक्तिगत चाहना त होला । तर मैले मात्र जितेर के गर्ने ?

तपाईले जिते काठमाडौं महानगरपालिकालाई कस्तो बनाउने योजना बनाउनु भएको छ ?

मैले राज्यबाट पाउने पचास प्रतिशत शुविधा जनताको लागि खर्च गर्छु । काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजना छ । हामी हावादारी कुरा गर्दैनौ । हावामा पानी जहाज चल्दैन । महानगरका करदातालाई राज्यको करदाता हुँ भन्ने अनुभूति गराउनु छ । कर्मचारीतन्त्रमा अस्तव्यस्तता छ । जनताको कामलाई छिटो छरितो बनाउनु छ । प्रदुषण तत्काल हटाउनु छ । ६ महिना भित्र महानगरलाई पीच गर्नेछौं । भूमाफियाले सार्वजनिक जग्गा कब्जा गरेका छन् । त्यसलाई हाम्रो नियन्त्रणमा लिएर जनताको हितमा प्रयोग गर्नेछौं । ६ महिना भित्र शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या पहिचान गरी हल गर्नेछौं । जनताले ठूलो कुरा अहिले खोजेका छैनन् । यस्तै कुरा हो तत्काल गर्नु पर्ने ।

तपाईहरुको मुख्य प्रतिष्प्रधा को सँग हुन्छ ?

मुख्य प्रतिष्प्रधा त कांग्रेससँगै हो ।

 

मेरो उम्मेदवारीले ठूला दललाई मिल्न बाध्य बनायो

किशोर थापा (साझा पार्टीबाट काठमाडौं महानगर प्रमुखका उम्मेदवार)

भर्खर नयाँ चुनाव चिन्ह पाउनु भएको छ । सबैभन्दा कान्छो दल, जो अझै जन्मिसकेको पनि छैन, यसको समर्थन्मा चुनाव लड्दै हुनुहुन्छ । मतदातालाई बुझाउन कत्तिको गाह्रो भाछ ?

मतदाताले धेरै बुझिसक्नु भएको छ । चुनाव चिन्ह के हो भनेर साझा पार्टीको फेसबुक खोजिखोजि हेर्नु भएको छ । मेरो क्यामरा र उपप्रमुखको सेलरोटी पपुलर चिन्ह नै हो । पार्टीलाई त अव धेरै चिनाइरहन त्यति आवश्यक भएन । चुनाव चिन्ह सामाजिक सञ्जालमा राखिसकेका छौं । घोषणा पत्र र पर्चा बनाएर वितरण गरिरहेका छौं ।

प्रसारको उपयुक्त माध्याम फेसबुकलाई बनाउनु भएको हो ?

हाम्रा लक्षित मतदाता युवाहरु हुन् । २० वर्षदेखि उनीहरु मतदानबाट बञ्चित भएका छन् । उनीहरुमा अहिले ठूलो जोस र उमंग छ । हामी उनीहरुलाई पार्टीमा आवद्ध गर्न चाहन्छौं र भोट लिन चाहन्छौं । हरेक युवाहरुको हातहातमा स्माट फोन छ । त्यसमार्फत प्रचार गरिरहेका छौं । विद्युतिय सञ्चार माध्याम पनि प्रयोग गछौं । वडा वडा र टोलटोलमा पनि पुग्छौं ।

फेसबुक मार्फत युवा लक्षित प्रचारले मात्र चुनाव जित्न सकिन्छ त ?

समय छोटो भएकाले अहिले सबैको घरघरमा पुग्न सकिन्न । वडा र टोल टोलमा पुग्छौं । हाम्रा सुभचिन्तक, भोलेन्टियर, शुभचिन्तक घरघरमा पुग्नुहुन्छ ।

के भनेर भोट माग्दै हुनुहुन्छ ?
सफा र सुरक्षित सबैको काठमाडौं बनाउने मेरो सपना छ । पाँच वर्षका लागि यो शहरको जिम्मेवारी दिनुभयो भने म त्यो जिम्मेवारी सहजताकासाथ पारदर्शी ढंगले महानगरलाई राष्ट्रको गौरवशाली राजधानीका रुपमा रुपान्तरण गर्छु ।

महानगरलाई सफा र सुरक्षीत बनाउने तपाईका योजना के छन् ?

सफा बनाउनका लागि धुलो नियन्त्रण गरेर फोहरमैला व्यवस्थापन गर्नुपर्छ । बायु प्रदुशण असाध्यै डरलाग्दो अवस्थामा छ । नदीनाला, पोखरी र पानीका श्रोतहरुलाई नियमित सरसफाई गर्नु पर्नेछ । प्राकृतिक विपत्तिबाट सुरक्षित राख्नका लागि आफ्नो घर कसरी निर्माण गर्ने, टोललाई कसरी सुरक्षीत राख्ने, उद्योगी व्यवशायीले गरेको लगानीलाई पनि सुरक्षित राख्ने भन्ने कुरा सुरक्षित काठमाडौंको अवधारणा भित्र पर्छ । यी त केही अल्पकालिन योजनाहरु भए । पाँच वर्षमा पुरा गर्ने केही दिर्घकालिन योजनाहरु पनि अघि सारेको छु ।

तपाईले देखेको तपाई बाहेकको योग्य उम्मेदवार को हो ?

मैले व्यक्तिगत रुपमा उहाँहरुलाई चिन्दिन । त्यसैले उहाँहरुको इमान्दारिता र क्षमताको बारेमा थाहा नभएकाले बोल्न सक्दैन ।

धेरै पुराना पार्टी छन् र केही दलहरुको बीचमा चुनावी तालमेल पनि भएको छ । यस्तो अवस्थामा नयाँ पार्टीबाट उम्मेदवार भएकोले कत्तिको चुनौतीपूर्ण हुने देख्नुभएको छ ?

मैले बैशाख १ गते नै उम्मेदवारी दिने घोषणा गरेको थिए । त्यसले काठमाडौंमा एउटा तरंग पनि ल्यायो । जसले एउटा लहर ल्यायो र त्यो लहरबाट ठूला दललाई पनि एक्लै चुनाव लडेर जितिन्न भन्ने महसुस भयो । जसले हामी मिल्नु पर्छ भन्ने निर्णयमा पुगे ।

उनीहरु मिलेर जानु खुशीको कुरा हो । मुलुकलाई पनि फाइदा नै हुन्छ । मेरो उम्मेदवारीले उनीहरुलाई दवाव सृजना भयो र मिल्न कर लाग्यो । जनताको लागि मिल्नुको विकल्प छैन भन्ने सन्देश दिन पनि खोजेको हो । त्यसमा हामी सफल भइसकेका छौं ।