१८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ बिरासत कायम गर्न प्रमुख राजनीतिक दल काठमाडौंमा सक्रिय भएका छन् । निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ इतिहास रच्ने दाबी लोकतान्त्रिक र बाम गठबन्धनले गरेका छन् ।

दोस्रो संविधानसभामा आठ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसले आसन्न निर्वाचनको सम्पूर्ण परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ । क्षेत्र नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्दै नौ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले क्षेत्र नम्बर २ र ७ बाहेक सबैमा आफ्ना उम्मेदवार अघि रहेको दाबी गरेको छ । २ र ७ मा प्रतिस्पर्धा भए पनि परिणाम भने आफ्नै पक्षमा आउने कांग्रेसको दाबी छ । आजको नागरिकमा खबर छ ।

वाम गठबन्धनले भने कांग्रेसको बिरासत भत्कने दाबी गर्दै एक दशकपछि काठमाडौंमा नयाँ इतिहास निर्माण हुन लागेको दाबी गरेको छ । छ र चार क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादीले कम्तीमा सातवटा निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् । वाम गठबन्धनले २, ३, ५ र ७ निर्वाचन क्षेत्रमा जित निश्चित रहेको अन्य क्षेत्रमा कांग्रेस उम्मेदवार प्रतिस्पर्धामा रहे पनि परिणाम आफ्नो पक्षमा आउने अनुमान गरेको छ ।

काठमाडौं महानागरपालिकाका १०, ११, २९ र ३१ वडा रहको क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंहले पहिलो संविधानसभामा एमाले नेता प्रदीप नेपाललाई ठूलो मतान्तरले पराजित गरेका थिए । ४२ हजार मतदाता रहेको यस क्षेत्रका सबै वडामा कांग्रेसले अग्रता कायम गर्ने कांग्रेस विश्लेषण छ । पूर्वपत्रकार रवीन्द्र मिश्रको उम्मेदवारीले लोकतन्त्रवादीको केही भोट प्रभावित गर्नसक्ने आकलन गरिए पनि आफ्नो प्रतिस्पर्धी वाम गठबन्धनका अनील शर्मा भएको क्षेत्रीय सभापति रवीन्द्रविक्रम राणाले बताए । मिश्रको विषयमा बाहिर चर्चा भएजस्तो नभएको दाबी गर्दै राणाले वडा नम्बर १० बाट केही मतमात्र उनले पाउन सक्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार भारी मतसहित निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘स्थानीय चुनावमा ३१ वडामा देखिएको कमजोरी पनि समाधान भइसक्यो ।’

काठमाडौं–२ लाई आफ्नो सुरक्षीत क्षेत्र भएको दाबी गरेको एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मैदानमा उतारेको छ । दोस्रो संविधानसभामा दुई ठाउँबाट विजयी नेपालले त्यो क्षेत्र छाडेपछि २०७१ मा भएको उपनिर्वाचनमा विजयी दीपक कुइँकेललाई नै कांग्रेसले अघि सारेको छ । यसपटक पनि एमालेभित्रको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनले परिणाम आफ्नो पक्षमा पार्न थप सहज हुने विश्लेषण कांग्रेसको छ ।

एमाले अध्यक्ष केपी ओलीनिकट नेताहरु अझै नेपालको पक्षमा खुलिसकेका छैनन् भने जनमतलाई बेवास्ता गर्दै उनले पटकपटक यो क्षेत्र छाडेर रौतहट गएको गुनासो स्थानीयको छ । काठमाडौं–२ मा महानगरपालिकाका ९ र ३२ वडाका साथै कागेश्वरी मनहराका ४, ५, ६, ७, ८, ९ वडा र शंखरापुरा नगरपालिका पर्छन् ।

काठमाडौं ३ मा लोकतान्त्रिक र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत र वाम गठबन्धनबाट एमाले नेता कृष्ण राई चुनावी प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित कांग्रेस नेता चक्र ठकुरीलाई २०७० को चुनावमा पराजित गरेका नेता रामेश्वर फुयाँललाई वाम गठबन्धनले प्रदेशसभामा उम्मेदवार बनाएको छ । त्यसको प्रभाव पनि निर्वाचनमा समेत पर्ने कांग्रेस बुझाइ छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका ६, कागेश्वरी नगरपालिकाका १, २, ३ वडाका साथै गोकर्णेश्वर नगरपालिका पर्ने यस क्षेत्रमा दुवै पक्षले आआफ्नो अवस्था बलियो रहेको दाबी गरेका छन् ।

काठमाडौं ४ मा लोकतान्त्रिक र वाम गठबन्धनबाट युवा नेता गगनकुमार थापा र राजन भट्टराई मैदानमा छन् । २०७० को संविधानसभा निर्वाचनमा एमालेका निर्मल कुइँकेल र माओवादीका नन्दकुमार पुन पासाङलाई ठूलो मतान्तरसहित हराउँदै परिणाम आफ्नो पक्षमा पारेका थापा अहिले पनि त्यसलाई निरन्तरता दिने दाउमा छन् भने वाम गठबन्धनको बलमा भट्टराई २०७० को परिणाम उल्ट्याउने रणनीतिमा छन् । स्थानीय तहको निर्वाचनलाई लिएर कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिँदै जन्मथलो सिन्धुपाल्चोकका मतदाताको विश्वास बटुलेर परिणाम आफ्नो पक्षमा पार्ने भट्टराईको रणनीति छ ।

थापा एमालेसहित वाम गठबन्धनकै मतबाट परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । त्यसले दुवै नेता धेरै मतदाता रहेको कपन क्षेत्रका र सिन्धुपाल्चोकबाट यहाँ आई बसेका मतदातालाई आफ्नो पक्षमा पार्न लागि परेका छन् । यस क्षेत्रमा महानगरपालिकाका १, ७, ८, ३० वडाका साथै बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् ।

काठमाडौं ५ मा कांग्रेस यसपटक पनि आफ्नो जितलाई निरन्तरता दिने पक्षमा छ । दुई संविधानसभा निर्वाचनमा एमाले महासचिव ईश्वर पोखरेललाई चार हजारभन्दा बढी मतान्तरले कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले जितेका थिए । आचार्य अस्वस्थ भएपछि कांग्रेसले उनको ठाउँमा अर्का केन्द्रीय सदस्य प्रकाशशरण महतलाई अघि सारेको छ ।

दुवै पार्टीभित्र पोखरेल र महतप्रति असन्तुष्टि रहे पनि यसपटक निर्वाचन परिणाम आफ्नो पक्षमा पर्ने एमाले विश्लेषण छ । आचार्यको ठाउँमा नयाँ उम्मेदवार दिनु, काठमाडौं महानगरपालिका–४का साथै धापासीसहितका क्षेत्रमा कांग्रेसको खस्कँदो संगठनलाई एमालेले जितको मुख्य आधार ठानेको छ ।

कांग्रेसले भने स्थानीय निर्वाचन परिणामलाई आधार बनाएर प्रतिनिधिसभाबारे अनुमान गर्नु ठीक नभएको जिकिर गर्दै आफ्नो पुरानो जनाधार कायमै रहेको दाबी गरेको छ । १४ हजार मतदाता रहेको महानगरपालिका वडा नं.४ केन्द्रित चुनावी अभियान तीव्र बनाएको कांग्रेसले दुवै राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनका कारण परिणाम सहजै पार्टीको पक्षमा आउने आकलन गरेको छ । विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाको उम्मेदवारीले परिणाम आफ्नो पक्षमा पार्न सहयोग पुग्ने आकलन कांग्रेसको छ । साथै पार्टीका प्रभावशाली, बौद्धिक र सम्भावना बोकेका नेतालाई मैदानमा उतारेकाले परिणाम आफ्नो पक्षमा पार्न सहज भएको कांग्रेसको अनुमान छ । काठमाडौं ५ मा महानगरपालिकाका २, ३, ४, ५, बुढानिलकण्ठका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ वडा पर्छन् ।

त्यस्तै, काठमाडौं–६ मा कांग्रेसले पूर्वजिल्ला सभापति भीमसेनदास प्रधानलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता झक्कु सुवेदीलाई मैदान उतारेको छ । पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेपछि चर्चामा आएका सुवेदीलाई वाम गठबन्धनले प्रतिस्पर्धामा उतारेको हो । दोस्रो संविधानसभा निर्वाचनमा प्रधानसँग प्रतिस्पर्धामा माओवादीका हिमाल शर्मा र एमालेका योगेश भट्टराई मैदानमा थिए । काठमाडौं–६ छाडेर भट्टराई ताप्लेजुङबाट उम्मेदवार बनेका छन् ।

गठबन्धन नै निर्वाचन जित्ने आफ्नो पहिलो र बलियो आधार भएको सुवेदीको दाबी छ । स्थानीयले सुवेदीलाई पाहुना नेताका रुपमा लिँदा परिणामलाई निरन्तरता दिन बल पुग्ने कांग्रेसको आकलन छ । सुवेदीले प्रधानको कांग्रेस जिल्ला सभापति सबुज बानियाँसँगको चिसो सम्बन्धको फाइदा उठाउने प्रयास गरिरहेका छन् । प्रधान र बानिया पार्टीको १३औं अधिवेशनमा जिल्लासभापतिमा प्रतिस्पर्धी थिए ।

कांग्रेसले काठमाडौं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गरेको छ । यहाँ राप्रपाका विक्रम थापा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन् । वाम गठबन्धनले एमालेका रामवीर मानन्धरलाई मैदानमा उतारेको छ । मानन्धरकै कारण उनकै वडामा स्थानीय निर्वाचनमा पार्टी पराजित बनेको भन्दै असन्तुष्ट एमालेका नेताकार्यकर्ताको असन्तुष्टिको लाभ उठाउने राणनीतिमा लोकतान्त्रिक गठबन्धन छ ।

काठमाडौं ८ मा अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि जित निकाल्ने पक्षमा कांग्रेस छ । कांग्रेसले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मैदानमा उतारेको छ भने वाम गठबनधनका तर्फकाट एमालेले जीवनराम श्रेष्ठलाई मैदानमा उतारेको छ ।

काठमाडौं ९ बाट कांग्रेसका ध्यानगोविन्द रञ्जित र वाम गठबन्धनबाट एमालेका कृष्णगोपाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । उनीहरु यसअघि नै दुईपटक आपसमा भिडिसिकेका उम्मेदवार हुन् ।

तत्कालीन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं १० बाट पराजित गरेर चर्चामा आएका कांग्रेसका राजेन्द्रकुमार केसी (राजन) यसपटक पनि विजयलाई निरन्तरता दिने पक्षमा छन् । गठबन्धनका पक्षबाट माओवादी नेता हितमान शाक्यलाई अघि सारेपछि केही राहत महसुस गरेका केसी विगतलाई नै निरन्तरता दिने रणनीतिमा छन् । २०७० को निर्वाचन बहिष्कार गरेका शाक्य वाम गठबन्धनको बलमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन् ।