३ जेठ, काठमाडौं ।
राप्रपासँग चुनावी तालमेल गरे पनि एमालेले झेल गरेपछि काठमाडौं र ललितपुर महानगरपालिकाको उपमेयर (उपप्रमुख) कांग्रेसले जित्ने पक्कापक्की जस्तै देखिएको छ ।

उम्मेदवार उठाउँदै काठमाडौंमा एमालेले प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठलाई उठाइएको थियो । तर, जारी मतगणनामा विद्यासुन्दरलाई जति मत आएको छ, उपप्रमुखमा राजाराम श्रेष्ठलाई उनको भन्दा झण्डै आधा मत कम आएको हो । विद्या सुन्दरले १०३३ मत ल्याउँदा राप्रपाका श्रेष्ठले उपप्रमुखमा ६४१ मतमात्र ल्याएका छन् । एमालेका भोटरले विद्यासुन्दरलाई भोट हाले तर तालमेल भए पनि राप्रपाका उम्मेदवारलाई भोट नहालेको यो गणनाले प्रष्ट गर्छ ।

कांग्रेसका तर्फबाट प्रमुखमा राजुराज जोशीले ८४० मत ल्याउँदा उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गीले ९४२ मत ल्याएकी छिन् । यसले पनि राप्रपाका उम्मेदवारले उपप्रमुखमा कांग्रेसलाई जित्ने गरी भोट नपाउने देखिएको हो । काठमाडौंको ३३ वडाका कूल एक लाख ९६ मत गणना हुने बेलासम्म उपप्रमुखमा श्रेष्ठ अगाडि आउँने सम्भावना नभएको होइन तर, भोटिङ टे्रन्ड हेर्दा राप्रपालाई एमालेले तालमेलमा झेल गरेको प्रष्टै देखिन्छ ।

ललितपुरमा पनि राप्रपालाई एमालेको धोका
ललितपुरमा पनि राप्रपाका उम्मेदवार बाबुकाजी प्रधानलाई एमालेले धोका दिएको छ । तालमेलमा एमालेका हरिकृष्ण ब्यन्जनकार र राप्रपाका बाबुकाजी प्रधान उठेका थिए । तर, मतगणनामा ब्यन्जनकारले ५ हजार ८ सय ११ मत ल्याउँदा राप्रपाका प्रधानले दुई हजार एक सय ११ मत मात्र ल्याएका छन् । काठमाडौंमा जस्तै ललितपुरमा पनि एमालेले प्रमुखमा ब्यन्जनकारलाई मत हाले पनि उपप्रमुखमा राप्रपालाई भोट नदिएका हुन् ।

तर, कांग्रेस उपप्रमुखकी उम्मेदवार गिता सत्यालले भने चार हजार दुइ सय ९९ मत पाएकी छिन् । यो मत राप्रपाका प्रधानले पाएको भन्दा झण्डै दोब्बर हो ।