एजेन्सी । आफू विरुद्धको प्रदर्शन हिंस्रक बन्दै गएपछि पाकिस्तानका कानुनमन्त्री जाहिद हामिदले राजीनामा दिएका छन् ।

मन्त्री हामिदले पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री अब्बासीले मन्त्री हामिदको राजीनामा आजै स्वीकृत गर्ने अनुमान गरिएको छ ।

पाकिस्तानका धार्मिक संगठनहरुले कानुन मन्त्रीको राजीनामा माग गर्दै तीन सातादेखि राजधानी इस्लामावादको मुख्य सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । संसदमा पेश गरिएको चुनाव सुधार सम्बन्धी विधेयक इस्लाम धर्म र मान्यता विपरित भएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सो विधयेक ल्याउने प्रमुख जिम्मेवार कानुन मन्त्री भएको भन्दै उनीहरुले इश्वर निन्दा गरेको आरोपमा कानुन मन्त्रीको राजीनामा माग गर्दै आएका थिए । कानुनमन्त्री हामिदले भने विधयेक सबै दलको सहमतिमा ल्याइएको दाबी गरेका छन् ।