२ जेठ, काठमाडौं ।
वैशाख ३१ गते स्थगित भएको काभ्रेको नमोबुद्ध नगरपालिका–४ र धुलिखेल नगरपालिका–१२ मा भोली पुनः निर्वाचन हुने भएको छ । एक युवकको मृत्युको बिषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को निर्वाचन भोली जेठ ३ गते हुने भएको हो ।

शनिवार गोली लागेर स्थानीय २८ बर्षीय नवराज पाठकको मृत्युपछि उत्पन्न विवादका कारण जनक उच्च मावि मतदानस्थलमा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए ।

सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यलयमा स्थानीय राजनीतिक दल, नागरिक समाज, पीडित पक्षसहितको बैठकले चुनाव गर्ने सहमति गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।

शनिवार नै पाठकलाई गृह मन्त्रालयले सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको थियो । यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडा सदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गतेको लागि तोकिएको छ । भोली हुने निर्वाचनमा राजनीतिक दलहरु जुटेका छन् ।