१४ साउन, काठमाडौं।
केही दिनयता देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा अघिपछि भन्दा सुनसान देखिन्छ । मन्त्रालयमा उपप्रधानमन्त्री, मन्त्री तथा सहायक मन्त्रीहरुलाई काम विशेषले भेट्न आउनेको भीड हिजोआज देखिँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गत आइतबारदेखि कामचलाउ हैसियतमा परिणत भएपछि यस्तो अवस्था आएको कर्मचारीहरुको बुझाइ रहेको छ । चार पाँच दिनयता मन्त्रीलाई भेट्न आउने नेता, कार्यकर्ता र चिनजान भएका मानिसहरुको संख्यामा कमी आएको मन्त्रीको निजी सचिवालयका कर्मचारीहरु बताउँछन् ।

सञ्चार नीति तर्जुमा प्रभावकारी भूमिका निर्वाह गरेकोमा सञ्चारजगत्बाट स्याबासी पाएमा मन्त्री शेरधन राई सोमबार अघिपछि भन्दा बढी समय आफ्नै मन्त्रालयमा बिताए । मन्त्री राई मंगलबार भने दिउँसोसम्म मन्त्रालयमा देखिएनन् । ‘मन्त्रीसँगको भेटघाट गर्ने मानिस अधिपछि भन्दा कमै देखिन्छ ।’ मन्त्रालयका कर्मचारीहरुले भने । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।