३० कात्तिक, नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय किलोमिटर टाढा रहेको साहरनपुन जिल्लामा सो दुर्घटना भएको थियो ।

यस घटनामा परी कारमा रहेका पाँचै व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते भएका यात्रुवाहक बसका यात्रुहरुलाई भने नजिकै अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ ।

उच्च गतिमा रहेको बस चालकले आफ्नो नियन्त्रण गुमाउदा विपरीत दिशाबाट आइरहेको कारसँग बस ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

सरकारले यस घटनाको अनुसन्धानको लागि आदेश दिएको छ । विश्वका अन्य देशहरुको तुलनामा भारत हुने सडक दुर्घटनाको सङ्ख्या उच्च रहेको छ ।