५ जेठ, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी भएकी छन । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी भएका छन ।

प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी बनेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी खगिसरा गुरुङले ११ हजार ६९३ मत गरेका थिए ।

नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ, जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेका विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी बनेको छ ।

नवलपरासीमा छमा काँग्रेस, दुईमा एमाले

यसैगरी, स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा नेकाले विजय हासिल गरेको छ भने दुईवटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुुन् । यसैगरी नेकपा (एमाले) उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी बन्नुभएको छ । काँग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ ।

त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको हो ।

नेकपा (एमाले)ले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत विजयी हासिल गरेको छ । रासस