१ साउन, श्रीनगर (भारत प्रशासित काश्मिर) । भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय समाचार संस्था पीटीआईले भने मृतक सङ्ख्या ११ भएको र घटनामा ३० देखि ३५ जना घाइते भएका जनाएको छ ।

श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइएको छ । मृतकका पहिचान भने भइसकेको छैन ।

“तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर–जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाएका छन् । घटनास्थलमा १६ जनाको मृत्य भएको र ९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएको उनले बताए। आठ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ ।

हिन्दु तीर्थधाम अमरनाथमा हरेक वर्ष वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्रा खुला गरिएपछि भएको यो यस क्षेत्रको सबैभन्दा ठूलो सडक दुर्घटना हो ।

यसवर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन् । उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक वर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा भक्तजन पुगेका हुन्छन्। रासस/ सिन्ह्वा/ पीटीआई