कास मैले देख्ने भए
तिम्रा राम्रा चीज देख्ने आँखा मेरा भए ।
मैले पनि थाह पाँउथें, को को आए गए ।।
तिमीलाई ब्याख्या गर्थें हुँला, कुन फूल कस्ता भए ।
अँध्यारोमा जोरी खोजी, स्पर्षले तिमीलाई रोजी,,
यति मात्रै भन्न सक्छु, सम्झनामा रहे ।।
तिम्रा संसार हेर्ने आँखा, यदि मेरा भए ।।

उपहारमा दिएको फूल सेतो होकी रातो ।
स्पर्षले मात्रै भन्छु, चिसो छ की तातो ।।
सेतो हो वा कालो निलो यो फूलको पातो ।।
यीं आँखाले देख्ने भए, म कलमले लेख्ने भए,,
कति खुशी हुन्थें हुँला, गुलाब भए रातो ।।
उपहारमा दिएको फूल सेतो हो की रातो ।।

के म रंगको दुस्मन हो र ? रंङ्ग कस्तो हुन्छ ?
घमाईलो दिन पनि, रात जस्तै हुन्छ ।।
केही देख्न नपाएर, बेजोडले मन रुन्छ ।।
फूलबारीमा फूलको रंङ्ग, जुनालीमा जुनको रंङ्ग,,
स्वाद लिन नपाउँदा, मनै कस्तो हुन्छ ।।
के म रंगको दुस्मन हो र ? रंङ्ग कस्तो हुन्छ ?

धरहरामा चढे पनि, हेर्नू के नै छ र ?
समुन्द्रमा गए पनि, देख्नु के नै छ र ?
मिठा मिठा बात गरौं, तिमी र म भएर ।
मेरा निम्ति तिम्रै आँखा, संसार हेर्ने तिम्रै आँखा,,
त्यसैबाट मलाई देखाउ, मेरो के नै छ र ?
धरहरामा चढे पनि हेर्नू के नै छ र ?

कति चोटी ठोक्केको छु, हिड्ने बाटोमा ।
कति चोटी चोईटेको छु, जिउने पाटोमा ।।
मेरो पिडा सायद निजी, जिउने पाटोमा ।।
तिम्रो काँधमा हात राख्दा, टेक्ने छडी ठोकाउँदा,,
शायद तिमी थाक्यौ होला, हिड्ने बाटोमा ।।
के नै दिन सक्छु मैले, यसको साँटोमा ।।
कति चोटी ठोक्केको छु, हिड्ने बाटोमा ।

bashanti-sahi

कवयत्रीः बसन्ती शाही

मैले आँखा नदेख्नुमा, मेरो दोष छैन ।
भगवान पनि पक्षपाति, न्याय निसाफ छैन ।।
मलाई पनि राम्रो देख्ने, के चाहना छैन ??
ऐना हेर्ने मेरो रहर, घुम्न जाने राम्रो शहर ,,
आफै भित्र मारेको छु, म अपराधी होईन ।।
मैले आँखा नदेख्नुमा, मेरो दोष छैन ।

तिम्ले जस्तै मैले पनि, आँखी गाजल लाउँथें ।
बजार भरका लुगाहरु, छानी छानी लाउँथें ।।
बाटो भरी काँडाहरु, पन्छाएर आँउथें ।।
आँखा च्याती हेर्दा पनि, जति चस्मा फेर्दा पनि ।
थाकेको यो मेरा मनलाई, आफै तह लाउँथें ।
तिम्ले जस्तै मैले पनि रोजेको फूल लाउँथें ।।

भगवान पनि कस्तो होला, हेर्न पाए हुन्थ्यो ।
भगवानले नै बरदान दिन्छ, यही समाजले भन्थ्यो ।।
मुर्ति बन्यो भगवान पनि, उसले के बर दिन्थ्यो ।।
म भगवानको सृष्टी होईन, यो आँखाको दृष्टी होईन ।
कुन जुनीको पापी भन्ने, उपनाम मलाई दिने ।
भगवान पनि कस्तो होला, हेर्न पाए हुने ।

क्यूएफएक्सका फिल्महलमा, हेर्न जान हुन्थ्यो ।
त्यहीं बसी कोकाकोला, पपकर्न खान हुन्थ्यो ।।
तिमीलाई पनि अघि लगाई, त्यही लान हुन्थ्यो ।।
तीं सिनेमा हेर्ने आँखा, हिरोईनका मनका भाखा,
तिमीसंगै बसी बसी, साँट्दा कस्तो हुन्थ्यो ??
क्यूएफएक्सका फिल्महलमा, हेर्न जान हुन्थ्यो ।

अर्को कविता पनि पढ्नुस्

कस्कालागी चढाउदैछौ लुम्बिनीको आँगन काटी !