विष्णु पौडेल

पर्यटनदूत बन्नका लागि पैसा पो चढाउनु पर्ने रहेछ । पार्टीको सिफारिससंगै एनआरएनको सिफारिस मात्रले हुँदो रहेनछ सारै गाह्रो पो रहेछ भाई । एक जना महासयले अफ रेर्कड कुरा गर्नु भयो । मैले भने, ‘ए हो र दाई अव के गर्ने त ?’ खै के गर्ने के नगर्ने ? पैसा दिएर त नबन्ने भाइ । समाजसेवा गर्दै आएको हो । दिए दिन्छन्, नभए भै गो ?

लेखक

दूतको लागि सिफारिस हुन्छ, सम्बन्धित निकायमा फाइल पुग्छ अनि रोकिन्छ । प्रवासमा रहेका एउटै पार्टीका कार्यकर्ताबीच आरोप प्रत्यारोप चल्छ ।

फाइल अघि बढ्दैन अनि पैसाको चलखेल शुरु हुन्छ । पर्यटनदूतको लागि आफूलाई योग्य ठान्नेहरुको पीडा यहि हो । आन्तरिक रुपमा पैसाको चलखेल भएको बताउछन् तर कसैले भन्दैनन् कति पैसा मागेको छ ।

मिडियाकर्मीसंग पैसाको चलखेल भएको गुनासो सुनाउछन् तर नाम नभन्ने सर्तमा । पर्यटन मन्त्रालयमा सम्पर्क गर्यो पैसाको चलखेल नभएको जिकिर गर्छ । पर्यटन दूत बनेपछि यो गर्छु वा त्यो गर्छु भन्ने योजना कसैसंग छैन । त्यसको लागि गरिने सामान्य अध्यन पनि छैन । तर पद चाहिएको छ ।

यतिवेला स्पेनमा राजदूतावास नियुक्तीसंगै युरोपमा पर्यटनदूतको पनि चर्चा छ । नाता, आफन्त, आर्थिक प्रलोपन, नेपाली नेपालीबीच तछाडमछाड गर्दै पर्यटनदूत बन्नको लागि दौडधुप चलेको छ ।

युरोपका कतिपय देशमा पर्यटनदूत नियुक्त भइसके भने कतिपय देशमा हुन बाँकी छ । एउटा देशमा एक होइन दुई तीन जनालाई समेत पर्यटनदूतको पगरी थमाइएको छ । त्यसको लागि आधारभुत सैद्धान्तिक कुराहरु के हुन् ? सीमा क्षेत्र के हो ? तोक्नै नपर्ने, कस्तो अचम्म !

राजनीतिक आस्थाका आधारमा तोक्ने पर्यटनदूतको प्रवासमा आवश्यकता कि सामाजिक आडम्बर ? यो विषयमा बहस जरुरी छ । ‘प्रजातान्त्रिक मुलुकमा राजनीतिक आस्थाको कुनै पनि नियुक्ती मान्य हुदैन, वरिष्ठ पत्रकार मोहन मैनाली भन्छन्, ‘भागभण्डा पुर्याउन गरिने अपरिपक्क निर्यणले अन्तत देशलाई नै हानी पुराउछ । यो कुनैपनि हालतमा स्वीकार्य छैन र हुदैन पनि ।’

एउटा प्रश्न स्वाभाविक उठ्छ पर्यटनदूत किन र कसका लागि ? यो नियुक्तिको लागि विज्ञता आवश्यक छ की छैन ? हो, सरकारबाट तलव भत्ता केहि आउदैन । तर यो पदका लागि राजनीतिक आस्थाको व्यक्ति गौण हुनुपर्छ तर भएको छैन । पैसा खुवाएर, नातागोताको आधारमा गरिने पर्यटनदूतको काम पर्यटन प्रर्वधन होइन सार्वजनिक मञ्चमा खादा ओढ्नु बाहेक केहि हुदैन ।

यसलाई अझै पुष्टि गर्नका लागि जव सरकार परिवर्तन हुन्छ अनि दूतहरु पनि परिवर्तन हुन्छन् । कांग्रेस, एमाले, माओवादी जसको सरकार छ उसैका भातृसंगठनका व्यक्ति यस पदमा नियुक्त गरिन्छ । राजनीतिक भागबण्डा पुर्याउनको लागि गव्जबको तुरुप फ्याकिएको छ प्रवासमा । पर्यटनदूत ।

यहि दूत बन्नका लागि एउटै देशवाट ४, ५ जनाको निवेदन पर्छ । सरकार परिवर्तन भए सत्ताको बागडोर समाल्ने पार्टीका नेताहरु मन्त्री हुनको लागि जसरी दौडधुप गर्छन् त्यहि परिपाटी छ प्रवासमा पर्यटनदूत बन्नका लागि ।

नेपाल सरकार संग पर्यटनदूतले गर्नुपर्ने कार्यविधी र कार्ययोजना छैन । हचुवाको भरमा नियुक्ती गरिने यस्ता पर्यटनदूत वाट पर्यटन क्षेत्रले के आशा गर्ने । सामान्य प्रवासमा रहेका नेपालीहरुले गर्ने प्रश्न यहि हो ।

पर्यटनदूतको नियुक्ति आफैमा नराम्रो पक्ष होइन । यसको कार्यनीति र योजना भए पर्यटन भित्र्याउनका लागि महत्वपुर्ण भुमिका खेल्न सक्छन् । तर यसलाई अवसरको रुपमा हेर्ने र सामाजिक प्रतिष्ठाको विषय बनाउँदा यसको महत्व कम भएको हो । विशुद्ध सामाजिक सेवाको रुपमा हेर्ने र देशका लागि केहि गर्ने उद्घोषका साथ अघि बढ्ने हो भने पर्यटन भित्राउनको लागि कोसेढुंगा सावित हुन सक्थ्यो तर भएन ।

पर्यटनदूतको विषयमा वहस होला, पाचतारे होटेलमा यो विषयमा कार्यपत्र पेश होला तर अहं कहिलै उद्देश्य र लक्ष्य प्रस्ट भएन । सक्षमता र ज्ञान भएका, योगदान पुरयाएका व्यक्तिहरुले मौका नै पाएनन् । पैसा खुवाएर हुन्छ कि पावरको वार्गेनिङ गरेर हुन्छ राजनीतिक पृष्ठभुमिका मान्छे नियुक्त गरियो । अनि परिणाम प्राय शुन्य ।

औपचारिक रुपमा नेपाल र युरोपियन युनियनसँग सन १९७५ मा कुटनीतिक सम्बन्ध स्थपना भयो । १९९२ मा आवासिय दूतको स्थापना भई लगत्तै युरोपका देशहरुले नेपालको पर्यटनबारे चासो राख्न थालेका हुन् । उनिहरुको यो चासोमा नेपालमा पर्यटन भित्राउनका लागि कत्तिको सहयोग पुगे होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो । पर्यटन भित्राउने कुटनैतिक पहल भएको कि भएन ?

तत्कालीन युरोपेली लगानी बैंककी उपाध्यक्ष म्यागडालेना अल्वारेजले सन २०१४ मा नेपाल भ्रमणको क्रममा संघले नेपालको हितमा ल्याएको परियोजना र पर्यटनको प्रसंगलाई जोड दिँदै नेपालको वृहत्तर विकासको लागि पहल गरेको जानकारी दिएकी थिइन । यस अर्थमा पनि यो भ्रमण महत्वपुर्ण थियो कि नेपालको लगानी र आर्थिक विकासको लागि पर्यटनलाई मेरुदण्डको रुपमा चित्रण गरिएको थियो । तर हामी पर्यटन विकासको लागि राजनीतिक पासा फ्याक्ने गर्छाै ।

हो पर्यटनदूतको नियुक्ति आफैमा नराम्रो होइन । भएका केहि पर्यटनदूतहरुले उदाहरणीय काम पनि गरेका छन् । तर मात्र विरोध, राजनीति आस्थाका आधारमा पर्यटनदूत हुनु हुदैन । पैसाको चलखेलको आधारमा हुने वा बनाइने यस्ता दूतवाट पर्यटनको क्षेत्रले के आशा गर्ने ? अनि किन चाहियो प्रवासमा यस्ता दूतहरु ? जसले राजनीतिक कोटा पुरा गरुन् ।