१७ साउन, काठमाडौं ।

संविधानसभाको दोश्रो निर्वाचनमा जव कांग्रेस र एमालेको हाराहारी सिट आयो त्यतिबेला धेरैलाई लागेको थियो कांग्रेसले सरकारको नेतृत्व गर्‍यो भने एमाले प्रतिपक्षमा बस्छ होला । तर धेरैको अनुमान विपरित एमाले सत्तामा गयो उपप्रधानसहित गृहमन्त्री लिएर । यसैपनि चुनावबाट कमजोर बनेको एमाओवादीका लागि कांग्रेस र एमालेको गठजोड दाँतमा ढुँगा बनेको थियो ।

कांग्रेस र एमालेको सत्ता मिलनपछि लामो समय सम्म संविधानसभामा पनि बहस चल्यो प्रक्रियाको लामो बहस र विवाद चल्यो । बलियो बहुमतसँगै सत्तामा गएपछि प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो समय सम्म सुमधुर सम्बन्ध रह्यो । यद्यपी कोइराला ओली जस्तो एमाओवादीप्रति आक्रामक भने थिएनन् । माघ महिना सम्ममै संविधान जारी गर्ने प्रधानमन्त्री, राष्ट्रपति सहित सभामुख सम्म परिवर्तन गर्ने सहमतिमा बनेको सरकारको मधुमास अव आएर भने मोहभंगको चरणमा पुगेको छ ।

NC UML press meet 1

आइतबार प्रधानमन्त्री कोइरालाले एमालेविरुद्ध सबैभन्दा आक्रोशित अभिब्यक्ति दिँदै एमालेको पुरातनबादी सोंचका कारण संघीयताको सिमाङ्कन सहित संविधान जारी गर्न नसक्ने अवस्था आएको बताए । प्रदेशको सीमाङ्कनसहित संविधान जारी गर्ने भन्दै मुख्य चार दल छलफलमै रहेको भनिएको बेला प्रधानमन्त्री सुशील कोइरालाले भने प्रदेशको सीमाङ्कनमा नेकपा एमाले रुढीवादी देखिएको आरोप लगाएका छन् । कोइरालाको आक्रोश ओली र उनीबीचको सत्ता हानाथापको परिणाम हो ।

NC UML press meet 4

संविधान जारी भएपनि नभएपनि महाधिवेशन सम्म आफू प्रधानमन्त्री बनिरहने र पुनः सभापति बन्ने इच्छा राख्ने सुशील कोइराला र प्रधानमन्त्री बन्नका लागि १ दिन पर सर्दा पनि घाटा हुने ठानेका ओलीबीच अव तिक्तताको चरण शुरु भएको छ । एमाले र कांग्रेसका नेताहरुबीच १६ बुँदे सहमति संसोधन गर्ने कि नगर्ने भन्नेमा सार्वजनिक बहस नै चलेको छ ।

मोहभंगः ओलीको सत्तो सराप

बालुवाटारमा उद्योगी–व्यापारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले आफू सीमाङ्कनसहित संविधान जारी गर्नुपर्ने पक्षमा भएपनि एमालेले थाँती राख्न दवाब दिइरहेको खुलासा समेत गरे । यी २ नेताको आरोप प्रत्यारोप केवल संघीयताको सीमाङ्कन सहित संविधान जारी गर्ने कि नगर्ने भन्ने विषयसँग सम्बन्धित छैन । अन्तिम समयमा आएर कांग्रेस एमालेबीच देखिएको यो जुहारी सतहमा देखिएको भन्दा बढी नै खतरनाक छ ।

pm-koirala

ओलीले अव कुनै पनि बहानामा संविधान जारी गर्न मिति लम्ब्याउन नहुने अडान लिनु र प्रधानमन्त्रीले एमालेकै कारण सीमाङ्कनको विषय टुंगो लगाउन गाह्रो परिरहेको भन्नु मुख्यतः प्रधानमन्त्रीको कुर्सीसँग जोडिएको छ । पछिल्लो समयमा एमाओवादी अध्यक्ष प्रचण्डसँग समेत सुमधुर सम्बन्धमा रहेका ओलीले आफूलाई सोंचे भन्दा अघि नै गलहत्याउलान भन्ने पिर मनमा रहेका कोइरालाले आइतबार मुख नै फोडेर प्रधानमन्त्री पदका लागि संविधान जारी गर्न एमालेले हतार गरिरहेको आरोप लगाए । कोइरालाले शुरु देखि राख्दै आएको अडान संविधान जारी हुने वित्तिकै आफूले पद त्याग्ने भन्ने भनाइलाई दोहोर्‍याएका मात्र छैनन् उनले प्रदेशको सीमाङ्कन सहित संविधान जारी गर्ने पक्षमा रहेको समेत बताएर संविधान जारी गर्ने मिति पर सर्दा कुनै समस्या नहुने कुरा स्पष्टरुपमा भनिरहेका छन् ।

किङ मेकर प्रचण्ड
संविधानसभामा कमजोर शक्ति बन्न पुगेपनि प्रमुख २ दलको हाराहारी शक्ति हुनु र नरेन्द्र मोदी नेतृत्वको भारतले आफूलाई शक्तिकोरुपमा सँधै स्वीकार गर्नु एमाओवादीका लागि राहत बनिरहेको छ । पछिल्ला राजनीतिक उथलपुथलमा सँधै प्रमुख हात राखेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पराजित महसुस हुने अवस्थामा पुर्‍याएर नेपालमा बहुमतको संविधान जारी गर्न नसकिने सन्देश भारतीय प्रधानमन्त्रीले नेपालमै आएर दिए ।

Prachanda sita modi india visit

संख्याको आधारमा संविधान बनाउन नहुने भनेर अडान लिइरहेका प्रचण्डलाई मोदीको भाषणले पुलकित मात्र बनाएन पछिल्लो समयमा आएर भारत निम्तो पाएर राजकीयस्तरको भ्रमण गर्नेमा प्रचण्ड नै रोल नम्बर १ बने । भारत गएर आएपछि संविधान जारी गर्न कुनै बहानामा ढिलो गर्न नसकिने भन्ने ओलीसँग मिल्दो जुल्दो अभिब्यक्ति दिएका प्रचण्डलाई आफ्नो पक्षमा पार्न ओली र कोइराला दुवैजना लागिरहेका छन् ।

यही मोलमोलाइका बीच प्रचण्डको रोल किङमेकर बनिरहेको छ । प्रचण्डलाई हात लिएमा संविधान जारी हुने मिति पछि सार्न सकिने कोइरालाको बुझाइ छ भने प्रचण्डलाई ठाउँमा राखेमा छिटो भन्दा छिटो सत्तामा जान सकिने ओलीको बुझाइ । यही विपरित बुझाइमा किङमेकर बनिरहेका प्रचण्ड पछिल्लो समय कोइराला भन्दा ओलीप्रति बढी मिजास देखाउँदैछन् ।

Prachanda-Oli-Koirala

संविधानसभामा कमजोर भएपनि अधिकाँश आफ्ना एजेण्डा हालेर संविधान बनाउँदा दीर्घकालीन राजनीतिमा आफूलाई फाइदा पुग्ने र नेपालमा राजनीतिक स्थिरता कायम गर्न सक्ने एक मात्र नेताकोरुपमा भारतले आफूलाई स्वीकारी सकेको अवस्थामा भावी सत्ता राजनीतिमा पनि केन्द्रमा नै रहिने उनको चाहाना अहिले अनुकुल देखिएको छ । संविधान जारी गर्नु पर्ने र धर्म निरपेक्षता शब्द बदल्नु पर्ने भनाइमा प्रचण्ड र ओलीको बोली मिलेको छ । जुन कोइरालाका लागि सबैभन्दा टाउको दुखाइको विषय बनेको छ ।

केही दिन अघि बालकोटस्थित आफ्नै निवासमा ‌‌ओलीले पत्रकारहरुलाई प्रश्न गरे- ‘सीमांकनसहितको संविधान ल्याउन लाग्दा अझै १० वर्ष लाग्ला त्यसो भए संविधान नै नल्याउने त ?’ अध्यक्ष ओलीले प्रमुख दलबीच पछिल्लो पटक भएको १६ बुँदे सहमतिअनुसार संविधानको मस्यौदा आएकाले अव त्यसलाई संशोधन या खारेजी गर्नुपर्छ भन्नेमा तुक नहुने टिप्प्णी गरे ।

ओलीको केही दिन अघिको यो टिप्पणी र कोइरालाको आइतबारे टिप्पणीले नेपाली राजनीतिमा सिंहदरवार छिर्न र बाहिरिनका लागि भैरहेको हतारो र विलम्बबीच साँच्चिकै सतही टकराव हुने पटाक्षेप भएको छ । जुन खेलमा आफ्नै पार्टीभित्र विवाद खेपिरहेका प्रचण्ड भने प्रमुख रेफ्रीकोरुपमा देखिइरहेका छन् ।