काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टी एकता गर्ने भएका छन् । पार्टी एकताको विषयलाई लिएर अनेकन टिप्पणी भएपछि दुई पार्टीले एकता प्रक्रिया अगाडि बढेको र हाल चुनावी अभियानमा दुवै दलका शीर्ष नेता केन्द्रित हुनुपर्ने भएकाले चुनाव पछि नै सबै प्रक्रियालाई एकमुष्ट टुंगो लगाइने बताएका हुन् ।

पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा गठबन्धन गरेका दुई प्रमुख कम्युनिष्ट पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेका छन् । सो समितिमा दुवै पार्टीका शीर्ष नेता सहभागी छन् । पार्टी एकता राष्ट्रिय आवश्यकता भएको भन्दै दुवै पार्टीले गलत अपवाह फैलाउने लक्ष्यका साथ विरोधीले समयसीमा बारे अनावश्यक टिप्पणी गरेको बताएका हुन् ।

एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका विषयमा कुनै पनि असहमति नभएपनि समयचापका कारण निर्वाचन पछि नै उपयुक्त हुने बताए ।

“एकता प्रक्रियाको खाका तयार भएको छ, एकैपार्टी जसरी नै निर्वाचन अभियानमा केन्द्रित छौँ । अहिलेको आवश्यकता बढीभन्दा बढी स्थानमा वामगठबन्धनलाई विजयी गराउने तर्फ केन्द्रित छौँ । चुनाव लगत्तै एकता प्रक्रियाले सार्थक निष्कर्ष पाउँछ”–महासचिव पोखरेलले भने ।

उता माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताबाट आत्तिएका केही विरोधी तत्वले एकताको विषयमा अनावश्यक भ्रम छरेको बताइन् । एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा शीर्ष नेतृत्व तहमा सहमति भइसकेको, एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिँदै उनले केही सैद्धान्तिक विषयमा समान धारणा बनाउन छलफल आवश्यक रहेको उल्लेख गरे ।

पार्टी एकता हुँदैन कि भनेर नेता तथा कार्यकर्ता भ्रमित हुनु जरुरी नभएकोमा जोड दिँदै प्रवक्ता भुसालले भने, “अरु कुनै कारणले होइन, हाल निर्वाचन अभियान नै प्रमुख कार्यभार हो । यो प्रक्रिया सम्पन्न भएपछि एकता प्रक्रियाले गति लिन्छ ।”

कम्युनिष्ट शक्ति मिल्न सक्दैन र मिलेपनि एकै ठाउँमा बस्न सक्दैनन् र आगामी मंसिर १० गतेपछि सो प्रक्रियाले गति लिदैन भन्ने ध्येयका साथ गलत प्रचार भएकोमा दुवै पार्टीका शीर्ष नेता सहमत छन् । आजै, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकता प्रक्रियाका विषयमा छलफल भएको थियो ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सनाकाअनुसार समयचापका कारण निर्वाचन पछि एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने सहमति भएको र सोही आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यसैबीच, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले यही कात्तिक २९ गतेदेखि पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लाका विभिन्न आमसभालाई सम्बोधन गर्ने भएका छन ।

कार्यक्रमअनुसार कात्तिक २९ गते गोरखाको घैरुङमा दुवै शीर्षनेताको उपस्थितिमा आमसभा राखिएको छ । यस्तै, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, लम्जुङ, स्याङजामा समेत दुवै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस