२७ असोज, काठमाडौं ।
काठमाडौँको कीर्तिपुरमा अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय कबर्ड हल निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार नेपाल जोरखाने स्पोट्र्स संघ र अन्तराष्ट्रिय जोरखाने स्पोट्र्स महासंघबीच नेपालमा अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय कबर्ड निर्माणका लागि सम्झौता भएको हो ।

अन्तराष्ट्रिय जोरखाने स्पोट्र्स महासंघ अन्तर्गत इरान सरकारको आर्थिक सहयोगमा काठमाडौँको कीर्तिपुरमा बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि सम्झौता भएको हो । कबर्डहल निर्माणका लागि २० रोपनी जग्गा उपलब्ध गराउने कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता कार्यक्रममा जानकारी दिए ।

पाँच वर्षभित्र सम्पन्न हुने गरि आगामी ३ महिना भित्र डिपिआर तयार पारिने नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिए । ९२ करोड अनुमानित लागत लाग्ने योजनामध्ये, ७५ प्रतिशत जोरखाने खेलकुद महासंघले आर्थिक भारबहन गर्ने र बाँकी २५ प्रतिशत नेपाल जोरखाने खेलकुद संघले बेहोर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, नेपाल जोरखाने खेलकुद संघको आयोजनामा भोलिबाट दुई दिने दक्षिण एसियाली जोरखाने खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ११ एकल र १ समूह गरि कुल १२ इभेन्ट्स समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन सार्क राष्ट्र र इरानबाट ८० खेलाडी नेपाल आइसकेका छन् ।