५ जेठ, काठमाडौँ ।

कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले अहिले ६, ९ र १० वडाको मतगणना सुरु भएको जानकारी दिए । कुल १० वडा भएको उक्त नगरपालिकाका सबै मत परिणाम आज साँझसम्म आउने जनाएको छ ।

प्राप्त पछिल्लो मतगणनाअनुसार प्रमुखमा नेकपा (एमाले)का रमेश महर्जन पाँच हजार ८४९ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार नकर्मीले पाँच हजार ४१७ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का हिराबहादुर महर्जनले दुई हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

उपप्रमुख पदमा एमालेकै सरस्वती खड्का पाँच हजार ४७९ मतका साथ पहिलो स्थानमा, काँग्रेसका विमला विष्ट चार हजार ९७८ मतका साथ दोस्रो तथा माओवादी केन्द्रका सुशीला बस्नेत दुई हजार २३७ मतका साथ तेस्रो स्थानमा छन् ।

कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस