१ कात्तिक, काठमाडौं ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिएका हुन ।

मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा आफुहरुसंग सहकार्य गरेर माओवादीले फाइदा लिएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाए ।

साक्षात्कारमा बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताए । त्यस्तै राष्ट्रिय जनता पार्टीका नेता जीतेन्द्र सोनलले आगामी निर्वाचनमा संविधान संशोधनको मुद्दा बोकेका लोकतान्त्रिक दलसँग सहकार्य हुने बताए ।

उनले राजपा र संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने कुरा भइरहेको र केही ठाँउमा काँग्रेस र अरु लोकतान्त्रिक दलसँग पनि सहकार्य गर्ने बताए ।