काठमाडौं, १३ जेठ । निर्माण व्यवसायीको लापरवाहीका कारण हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइनको काम सन्तोषजनक नभएको पाइएपछि ठेकेदार कम्पनी ‘आइकम टेल इण्डिया’सँगको ठेक्का तोडिएको हो । कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करीब १६ लाख डलर विलम्ब जरिवाना लगाउने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको ‘सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)’सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालोसूचीमा राख्ने निर्णय गरिसकेको छ । ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपालस्थित प्रतिनिधिसहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौँडामा रहेको आयोजना निर्माणस्थलको निरीक्षण गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण ठप्प पारी ठेक्का सम्झौताको उल्लङ्घन गरेकाले ठेक्का तोडिएको जानकारी दिए । “कार्यस्थलमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक–पटक निर्देशन दियौँ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, पत्राचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लङ्घन गरेकाले ठेक्का तोडिएको हो”, उनले भने, “नयाँ ठेक्कापट्टाको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै बोलपत्र आह्वान गछौँ ।”

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौँडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि विसं २०६५ फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । सो खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ ।

कूल १२ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ । आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट प्रसारण निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी ‘हेङटन अप्टिक्स इलेक्ट्रिक’सँग विसं २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा पर्ने २४६ टावरमध्ये १३७ को जग हालिएको छ भने १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण विसं २०७६ माघभित्र सक्ने लक्ष्य छ ।

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणका तर्फबाट गर्नुपर्ने रुख कटान र निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाए । उनले महत्वपूर्ण आयोजनाको कामलाई तीव्रता दिने गरी श्रमिकको सङ्ख्या थप्न आग्रह गरे । नेपालभित्रको प्रसारण लाइन सुदृढ र विश्वसनीय बनाउन तथा पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको छ । कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकको टोलीले हेटौंडामा निर्माणाधीन सव–स्टेसनको निर्माण प्रगतिबारे जानकारी लिएको थियो ।

हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा, भरतपुर र बर्दघाटमा १३२ केभी क्षमताका सव–स्टेसन निर्माण भइरहेको छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडामा २२० तथा ४०० केभी क्षमताका सव–स्टेसन पनि निर्माण भइरहेको छ । प्रसारण लाइन र सव–स्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुनेछ ।