सिड्नी,१० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष कार्यक्रमका लागि अष्ट्रेलिया जाने भएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सि र आरकेएस अस्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको परोपकारी गाला डिनरका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् । साथै सिन्धुपाल्चोकमा माझी बस्तीका लागि ५३ घर निर्माण गरकी सामाजिक अभियन्ता, सफल ब्यबसायी एबं लोकप्रीय अभिनेत्री स्वेता खड्का र एसएसडीआरसी स्कूल स्थापना गरी अपाङ्गता भएका बालबालिकालाई सेवा गरिरहेकी सविता उप्रेती पनि कार्यक्रममा सहभागी हुनेछन् ।

तीनैजना व्यक्तित्वको उपस्थितिमा, सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे २६ का दिन च्यारिटी गाला डिनर हुने भएको छ । यो कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको समाज कल्याण कोषमा जम्मा गरिने छ । उक्त गाला डिनरको टिकट मुल्य ७० र १ सय डलर राखिएको छ भने विद्यार्थीलाई केही छुट दिइनेआयोजकले जनाएको छ ।

एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले तीन जना उदाहरणीय व्यक्तित्वका जीवन संघर्ष र लगनशीलताका पाटाहरु सबैका लागि प्रेरणाको स्रोत बन्नसक्ने बताए । बिगतदेखि नै अस्ट्रेलियामा हुने अधिकांश कार्यक्रमहरुमा मुख्य प्रायोजकको रूपमा सहयोग पुर्याउँदै आएको ‘बाबा एजुकेसन कन्सल्ट्यान्सी’ र ‘आरकेएस अस्ट्रेलिया’ का संचालक रविन्द्रकुमार शर्माले यस्तो परोपकारी कार्यक्रम गरी आफूले सामाजिक दायित्व पूरा गर्न पाउनु गौरवको विषय भएको बताए ।