राम लोहनी।

हिन्दुहरूमा केही घाँस जातिलाई पवित्र मान्ने प्रथा छ। कुश एक हो। कुशलाई घर घरमा हुनुपर्ने पवित्र घाँस मानिन्छ। घरमा राखिने कुश जरा र टुप्पो सहितको सिङ्गै हुनुपर्छ। कुशलाई खाली भुइँमा पनि नराख्‍नु भनिन्छ। मुठाबाट कुश झिक्दा जहिले पनि फेदपट्टिबाट तानेर निकाल्नु पर्छ भन्ने मान्यता छ।

kush

विभिन्न पूजाआजा र पितृकर्ममा कुशको आवश्यकता पर्छ। कुशलाई पवित्रताको प्रतीक मानेर औँठी बनाई दायाँ हातको साहिँली औंलामा धारण गर्नुपर्छ भनिन्छ। कुशको चकटी अर्थात कुशासन पवित्र आसन हो। कुश टुक्र्याउनु पर्दा काट्नु हुँदैन भाँच्नुपर्छ भन्ने मान्यता छ। यहाँसम्म कि नङले पनि काट्नु हुँदैन। मानिस मर्दा मृत्यु संस्कार गर्न शरीर प्राप्त भएन भने कुशको शरीर बनाएर सदगत गर्नुपर्ने र विभिन्न संस्कार गर्दा बाहुनको स्थानमा कुशको बाहुन थपना गरेर पनि संस्कार संपन्न गर्ने प्रचलन छ।

कुशको पवित्रताको बारेमा विभिन्न किम्बदन्ति पाइन्छ। कसैले ब्रह्माको केश त कसैले विष्णुको केश पनि भनेका छन् कुशलाई। अलि चल्तिको कथा चाहिँ कछुवाको कपाल भनेर छ। समुद्र मन्थन हुँदा मन्दराचल पर्वत कछुवाको ढाडमा अड्याइएको थियो। त्यही कछुवाको कपाल समुद्रको किनारमा पुगेर कुश बनेको भन्ने विश्वास पनि छ। केश र कुश उस्तै शब्द भएकोले हो कि भन्न पनि सकिन्छ। विष्णुको एउटा नाम केशव हो।

कुशसँग संबन्धित अर्को कथामा अमृत परेको घाँस भएकोले पवित्र भएको हो भन्ने पनि छ। समुद्र मन्थनबाट निस्केको अमृत खोसाखोस हुँदा केही थोपा कुशमा पर्न गएकोले यो पवित्र भयो भनिन्छ। अमृतसँग जोडिएको अर्को कथा चाहिँ नाग र गरुडसँग संबन्धित छ। गरुडकी आमा विनता नागहरूकी दास बनेकी थिइन्। आमालाई दासता मुक्त गर्न गरुडले स्वर्गबाट अमृत ल्याएर नागहरूलाई दिएका थिए। नागहरू अमृत खानुअघि स्नान गर्न गएको मौकामा अमृतको घडा इन्द्रले चोरेर लगे। इन्द्रले अमृत लैजानुअघि गरुडले अमृतको घडा कुश घाँसमाथि राखिदिएका थिए। कुश अमृतको घडा राखिएको कारण पवित्र भएको भन्ने विश्वास पनि हो।

नागहरू फर्केर आउँदा अमृत थिएन। अमृत नभए पनि नागहरू कुश घाँसमा लडिबुडी गरे र त्यसलाइ चाटे पनि। तिखा तिखा घाँसको कारण तिनीहरूको जिब्रो चिरिएर दुइटा भयो भनिन्छ। त्यस्तै त्यस्तो धारिलो घाँसमा लडिबुडी गरेकोले शरीरको छाला पनि खुइलियो अर्थात तिनीहरूले काँचुली फेर्न थाले। काँचुली फेरेर पुनर्जन्म दिलाउने भएकोले कुशको महत्व बढेको पनि भनिन्छ।

नागहरूसँग संबन्धित पछिल्लो कथालाई ध्यान दिँदा कुशको प्रसङ्ग नागसँगै जोडिएको भान हुन्छ। शास्त्रमा नागहरूको वंश सिध्याउने प्रयास पटक पटक भएको पाइन्छ। महाभारतमा वर्णित खाण्डव वन दाहमा नागहरूलाई नष्ट गरिएको थियो। खाण्डवन दाह कृष्ण र अर्जुनले मिलेर गरेका थिए। उनीहरूले वनबाट एउटा प्राणीलाई पनि बाहिर निस्कन नदिएर आगो लगाएर सखाप पारेका थिए। पछि अर्जुनको छोरा अभिमन्युको नाति जन्मेजयले सर्पयज्ञ गरेर सबै सर्पहरूलाई यज्ञमा होमिदिएको कथा आउँछ।

कुशको प्रसङ्गमा पनि छाला खुइल्याएको कुरा नागसँग नै जोडिएको छ। नागहरूको पूर्वज कस्साइट (Kassite) को आदि थलो अरब हो। कस्साइटको वंशज नै खसहरू हुन्। खसहरूले बेबिलोनियामा चार पाँच सय वर्ष शासन नै गरेका थिए। कुश र खस शब्द पनि मिल्दोजुल्दो देखिन्छ। खस शब्द हिब्रु भाषाको NAKHASA बाट विकास भएको छ भन्ने चर्चा पनि छ। यो हिब्रु शब्दको अर्थ नाग / सर्प हो।

सारमा के निष्कर्ष निकाल्न सकिन्छ भने कुश घाँसको पवित्रताको प्रथा नाग जाति र पछिल्लो कालमा खसहरूसँग जोडिन्छ। कुशको विस्तार नाग (खस) बाटै भएको निष्कर्ष निकाल्न सकिन्छ। कुशको सर्वत सितलताको लागि धेरै उपयोगी मानिन्छ। गर्मी क्षेत्रका बासिन्दाले कुशलाई सितलता पाउनको लागि प्रयोग गर्नुलाई सामान्य नै मान्नुपर्छ। क्षमतावान, सक्षम अर्थको शब्द कुशल कुश बाटै विकास भएको हुनुपर्छ। कुशको पात झैँ तिखो र धारिलो भन्ने अर्थमा। त्यस्तै कुशाग्र पनि चल्तिको शब्द हो। कुशको पातको धार सम्भवत: हतियारसँग पनि तुल्य थियो। अरबी भाषामा kuss भनेको हत्या हो र अरबी हुँदै उर्दुमा “खुदकुशी” शब्दले आत्महत्यालाई बुझाउँछ।