२ साउन, कावठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अक के हुन्छ ?

आफ्नो भाषा अनुसार अरुलाई जज गर्नुहुँदैन् ।’ महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्टोक्ति दिए । उनले भने, ‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु ।’

त्यस्तै डा. महतले जनतालाई छिटो सेवा प्रवाह गर्नको लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सर्भिस डेलिभरी चाँडो हुनुपर्छ, हुन त अहिलेको सरकार कांग्रेस एक्लैको होईन, केही ढिलाई भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नुहुँदैन्।’

सकेसम्म असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास गर्नुपर्ने उनको भनाई थियो । महतले भने, ‘सकेसम्म चुनावमा मधेशकेन्द्रित दलहरुसँग पनि सहमति गरेर चुनावमा सहभागी गराउनुपर्छ, हामीले यसबारेमा लचकता देखाएका छौं।’

त्यस्तै उनले हालै सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आफूहरुको लागि सन्तोषजनक नभएको गुनासो पोखे । उनले भने, ‘अहिलेको मतपरिणामबाट कांग्रेस त्यति सन्तोष छैन, हाम्रो पराजय हुनु वा कम विजयी हुनुमा आन्तरिक र केही अन्य कारणहरु पनि छन् ।’

उनका अनुसार पार्टीभित्रको आन्तरिक विवाद र अघिल्लो सरकारले गरेका केही विवादस्पद जस्तो प्रधानन्यायाधीशमाथि महाअभियोग, नेपाल प्रहरीको प्रमुख नियुक्ती, चितवनमा पार्टीको उम्मेद्धवारको उम्मेद्धवारी फिर्ता, राजदुत प्रकरणको अपजसका कारण पार्टीले सोचेको जस्तो नतिजा ल्याउन नसकेको हो ।

महतले पार्टीले चुनावमा राम्रो नतिजा ल्याउन नसकेको लगायत अन्य विषयका बारेमा छलफल गर्न चाँडो भन्दा चाँडो पार्टी केन्द्रिय कार्यसमितिको बैठक बोलाउनुपर्नेबारे पार्टी नेतृत्वको ध्यानाकार्षण समेत गराए ।