४ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम गर्न नसकेको बताएका छन् ।

आज नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले नेपालको न्यायपालिकाले न्याय दिलाउन नसकेको भन्दै स्वतन्त्र न्यायपालिकाको गरिमा कायम गर्न अदालतलाई आग्रह गरे । उनले भने–“कठैबरी नेपालको अदालत, मेरो शुभकामना छ अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्, अहिले दशैं आउन लाग्या छ दुर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन्, श्रीमान् जीहरुलाई पनि त्यसको हेक्का दिमाग हालदिउन् ।”

नेपालको अदालतको विषयमा केही मिनेट खर्चिएका ओलीले अदालत अब अदालत जस्तो होस् भन्ने सबैको चाहना रहेको बताए। उनले अदालत मर्यादित, निश्पक्ष च्यातेको हेर्न आम जनता चाहेको भन्दै अदालतप्रति व्यङग्य गरे–“मत पत्र च्यातेकोमा अदालतले ठिक हो भन्छ, एउटा प्रहरीमाथि भएको अन्याय ठिक, यस्ता कुरा एमालेले हेरिरहेको छ र खबरदारी गरिरहन्छ ।”

उनले लोकतन्त्र भनेको मर्यादा कायम राख्ने भन्दै लोकन्त्रमा अदालतलाई मर्यादा कायम राख्न आग्रह गरे । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले देश विकासका धेरै काम गर्नुपर्नेमा आफै अलमलमा परेको बताए । विकास निर्माण गर्न अहिले राम्रो वातावरण रहेको बेलामा देशमा लुटमार, लुटतन्त्र चलेको आरोप लगाए । उनले प्रधामन्त्री शेरबहादुर देउवाप्रति इंगित गर्दै भने–“देश विकासको काम गर्न एक पटक मात्रै प्रधानमन्त्री भए पुग्छ, चार पटक प्रधानमन्त्री किन्न बन्न पर्यो ?”

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले जम्बो सरकार बनाएर नाटक मञ्चन गरेको आरोप समेत लगाए । यस्तै अध्यक्ष ओलीले नेपालमा काँग्रेस र एमाले गरि दुई वटा राजनीतिक शक्ति मात्रै रहेको भन्दै जनताले सही शक्तिलाई साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटि सदस्यद्धय बैजनाथ चौधरी, तिलक महत, एमाले नवलपुरका संगठन अध्यक्ष रोशन गाहा मगर, एमाले चितवनका अध्यक्ष एवंम साँसद कृष्णभक्त पोखरेल, एमालेका नेता देवी ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।