राम ढुंगाना ‘ अल्पमत ‘

केपी ओली नेतृत्वमा सरकार बनेको पनि एक हप्ता भन्दा बढि भैसक्यो । नेपालीहरुको महान् चाड बडादशै मुखमै आइसक्यो खाध्यन्न लत्ताकपडा , जस्ता चाडपर्बको लागि र दैनिक उपभोग्य सामानहरुको अभाब संगै भाउँ महंगिएर नेपालीहरु चाडपर्ब मनाउँन नसक्ने अबस्थामा पुगिसके । बडादशै होकि ‘ बडादशा ‘ हो यो पालिको दशै ?

सुशिल कोइराला प्रधानमन्त्रीको चुनाबमा हार्नु भनेकै भारत हार्नु हो भन्दै उफ्रिने हामी नेपाली जनताहरु प्रधानमन्त्री केपी ओलीले जनताहरुको समस्या लाई नजरअन्दाज गर्दै मन्त्रिपरिषद बिस्तारमा मात्रै ध्यान दिइरहेका छन् । ओलीले यत्ति छिट्टै प्रमाणित गर्लान् भन्ने सोचेको चाँहि थिएनौ , न सुशिल हारेका रछन् न भारत हार्यो ? सिर्फ नेपाली जनताँहरु हारेका रहेछन् ।

अघिल्ला प्रधानमन्त्री सुशिल कोइराला चाहिने जति कुराहरु पनि नबोल्ने या बोल्न नसक्ने हालका प्रधानमन्त्री बोल्न पर्ने भन्दा पनि धेरै ज्यादा अनावश्यक कुराहरु बोल्ने । देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगेका ब्यक्ति कहाँ कसरी प्रस्तुत हुनुपर्छ ? कसरी सार्बजनिक ठाउँमा बोल्ने हो अझै छुट्याउन सकिरहेका छैनन् । आफ्नै पदको गरिमा स्थापित गर्न नसक्ने ओलीले नेपाल र नेपालीहरुको शिर उँचो बनाउँने काम गर्लान् भनेर आशा नराखे पनि भैसक्यो ।

सरकार गठन भएको एक हप्ता नाघ्दैछ भर्खरै , उनले भने जस्तो काम गर्न सकेनन् , उनी असफल भइसके भनेर आरोप लगाइहाल्न अहिल्यै त नमिल्ला ? हामी जनताहरुले पनि एक- हप्ता भित्रै नेपाल लाई – स्विटजरल्याण्ड , सिंगापुर , किन बनाएनौ भनेर सोधेका छैनौ । एक हप्ता त के एक घण्टा पनि अभाब हुन नहुने इन्धनको महिनौ देखि अभाब भइरहेको छ , ओली प्रधानमन्त्री हुनुभएको एक हप्ता कटिसक्यो खै त जनताहरुले सर्बसुलभ तरिकाले डिजेल , पेट्रोल , ग्याँस जस्ता अत्यावश्यक चिजहरु पाएका ?

Ram Dhungana Alpamat

आफ्नो सत्ता टिकाउनको लागी हत्याका आरोप लागेका , अपराधिक मनोबृतिका मानिसहरुलाई धमाधम मन्त्री बनाउँदै हुनुहुन्छ ? तपाँइको सरकारमा मन्त्रीहरु छन् कि अपराधिहरुको झुण्ड हो ओली जि ? त्यस्ता मन्त्रीहरु लिएर सरकार बनाउँने तपाई पनि गतिलो त पक्कै ठहरिएन ? जनताहरुले आशा गरेका , योग्य , स्वच्छ छबिका सक्षम ब्यक्तिहरुलाई मन्त्री बनाउँन बाट चुकिसक्नु भयो ।

ओलीले सत्ता सम्हालेको एक हप्ता भित्र प्रधानमन्त्रीको रुपमा उनको तारिफ र गर्ब गर्नु पर्ने कुनै राम्रा कुराहरु देखिएन । नहुने बिरुवाको खस्रो पात भने जस्तै लक्ष्ण देखिसक्यो । उप- प्रधानमन्त्रीहरु पनि कति धेरै हुन् , एउटा बिहेमा लैजाने जन्तिको बस भरिन्छन् । पहिला – पहिला काठमाण्डौमा एक ठाउँबाट घुमाएर ढुंगाको झटारो हान्दा जग्गा र बिदेश पठाउँने दलालहरुलाई लाग्छ भन्थे अहिले कुनै न कुनै उप- प्रधानमन्त्रीलाई लाग्ने भएछ ।

प्रधानमन्त्री आफैलाई पनि छुट्याउन गार्हो होला कुन मन्त्री कुन उप- प्रधानमन्त्री ? बरु मन्त्री भन्ने पद नै खारेज गरेर सबैलाई उप- प्रधानमन्त्री बनाँउनतिर लाग्नुस् प्रधानमन्त्री ज्यु ।

उप- प्रधानमन्त्रीहरुको संख्यामा ‘ रेकर्ड ब्रेक ‘ गरेर तपाईले अग्रगामी छलांग र परिबर्तन हाम्रै जिबनकालमा देख्ने मौका दिनुभयो ।

प्रधानमन्त्री चुनाबको बेलामा संसदमा मन्तब्य दिदै तपाइहरुले मलाइ दिनुभएको मत खेर जाने छैन, भोट नदिएकाहरुलाई मलाइ भोट नदिएकोमा पछुत्तो लाग्नेछ भन्नु भएको थियो , ओली जि, अहिले ज- जस्ले भोट दिए ति सबैलाई पुरस्कार स्वरुप मन्त्री बनाँइराख्नु भएको छ । नदिनेहरु मन्त्री बन्न पाएनन् भित्रभित्रै पश्चाताप गरिरहेका होलान् पक्कै पनि ।

प्रधानमन्त्री ज्यु – तपाईको बिजय भयो बर्षौ देखिको इच्छा पुरा भयो , प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुग्न सफल हुनुभयो । देश जनताहरुको लागि लड्दा- लड्दै बिरामी भए भन्नु हुँन्थ्यो । तपाईको कारणले नेपाली जनताहरु चाहि बिरामी नपरुन् । सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुन्ड्याउँनु मात्रै तपाईको सफलता हो भने फोटो झुन्डिसक्यो अब प्रधानमन्त्री पद त्यागेर आराम गर्नुस् कि गतिलो काम गर्नुस् । हामी जनताहरु माथि निराशा र आक्रोश नथुपार्नुस् ।

म भित्र चेतना पलाउन थालेदेखि हाल सम्म एउटा प्रश्नको उत्तरको खोजि मै छु । तर यो प्रश्न अनुत्तरित नै रहिरह्यो । किन नेपाली जनताहरु माथि नेपाली राजनितिज्ञहरुले बारम्बार खेलवाड गरिरहन्छन् ? किन जो सत्तामा पुग्छ उही मनमौजी रुपमा शासन चलाँउछ ? किन ? कहिले र कसले होला हाम्रो आशा र भरोसा माथि तुषारो हैन ,न्यानो घाम लगाइदिने ?