१२ चैत, एजेन्सी  ।

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच चलिरहेको विवादकाबीच ‘द कपिल शर्मा शो’मा एक नयाँ पात्रको आगमन भएको छ । ‘ताउजी’को भूमिकामा देखा परेका यी पात्रको वास्तविक नाम परितोष त्रिपाठी हो । परितोषले कपिलको शोमा एउटा एपिसोडको सुटिङ भ्याइसकेका छन्।

शोमा उनको भूमिका ५५ वर्षका ‘ताउजी’को रहनेछ, बुढ्यौली चढेपनि उनी केटी जिस्काउन भने माहिर रहनेछन् ।

शोमा सुनिल ग्रोवरलाई विस्थापित गर्ने प्रसंगमा उनले भने, ‘मेरो भूमिका सुनिलको भन्दा फरक छ । सुनिल ठुला कलाकार हुन । त्यसैले म उनको ठाउँ लिन सक्दिन । उहाँहरु दुवैकोबीच विवाद उत्पन्न हुनुअघि नै मेरो कपिलको शोमा भाग लिने कुरा तय भइसकेको थियो ।’

हरेक पल मुड फ्रेस राख्नु पर्ने, सबैको चित्त बुझाउनुपर्ने, सबैलाई हसाउनु पर्ने लगायत सबै कुरामा ध्यान दिनु पर्ने भएकाले कमेडी गर्नु एकदमै जटिल काम भएको परितोष बताउँछन् ।

सन् २०१० मा परितोष एक टेलिभिजन च्यानलबाट प्रसारित कार्यक्रमको विजेता बनेका थिए । विजेता बनेवापत उनले ८ लाख रुपैया पाउनु पर्ने थियो तर उनले त्यो रकम पाएनन् । पछि गएर च्यानल समेत बन्द भयो । ८ लाखको लागी परितोषले आफ्नो ६० हजार रकम समेत गुमाउनुपरेको थियो ।

परितोषले भारतिय चर्चित कार्यक्रम क्राइम पेट्रोलमा २०११ देखि सन २०१५ सम्म काम गरिसकेका छन् ।