डा. बच्चु कैलाश कैनी ।

के तपाईले आफू म को हुँ भनेर चिन्नु भएको छ ? हामी अरुको बारेमा धेरै टिका टिप्पणी त गर्छौ तर हामी आफूले आफूलाई कति चिन्छौ ? हामी धेरैजसोले बिरलै मात्र आफ्नो गुण र दोषको बारेमा सोच्ने गर्छौ । मेरो बिचारमा मानिसको जीवनमा सुखी, खुसी र सन्तुष्ट हुनको लागि सबै भन्दा पहिले आफूले आफैलाई चिन्नु पर्छ । हामी जति समय अरुको बारेमा सोच्ने गर्छौ त्यो समय आफ्नो बारेमा सोच्ने र सोही अनुसार काम गर्ने हो भने जीवनमा धेरै उपलब्धि प्राप्त गर्न सक्छौ ।

हरेक मानिसको राम्रा र नराम्रा पक्ष वा गुण र अवगुण पक्कै हुन्छन । आफैलाई चिन्नु भनेको आफ्नो राम्रा र नराम्रा सबै पक्ष जस्तै गुण, अवगुण, दोष, कमि कमजोरीलाई चिन्नु हो । अनि आफूले आफूलाई चिन्नु भनेको आफ्नो अवगुणलाई सुधार गरी राम्रा पक्षको सही सदुपयोग गर्नु पनि हो । आफूले आफैलाई चिन्नु भनेको आफ्नो सामर्थ्यको पहिचान गरी सोही अनुसार आफ्नो गन्तब्य तय गर्नु पनि हो ।

हामी अरुको धेरै आलोचना गर्छौ । धेरै जसो हामी आफ्नो घर परिवार, समाज वा देश बिग्रेकोमा अरुलाई दोष दिने गर्छौ । तर, त्यो सबै कुरामा हाम्रो भूमिका र कर्तब्य के हो भन्ने कुरा बिर्सने गर्छौ । समाज र देश बिकासको लागि हरेक नागरिकको सकारात्मक भूमिका र योगदान हुनु जरुरी हुन्छ । हामी सबैको त्याग, समर्पण, लगाव र मेहेनत बिना हामी बस्ने समाज र देश बन्दैन । त्यसको लागि हामी सबैले आफ्नो भूमिका के हुन्छ र हामीले के कसरी योगदान गर्न सक्छौ भनेर सोच्नु जरुरी हुन्छ । सबै परिवर्तन र सुधार आफैबाट सुरु हुन्छ । त्यसैले पनि आफूले आफैलाई नचिनी आफ्नो जीवन, समाज र देश विकासको लागि कुनै पनि परिवर्तन सम्भब छैन ।

आफ्नो जीवनमा नकारात्मक पक्षको सुधार गरी प्रगति पथमा लम्कनको लागि सबै भन्दा पहिले आफ्नै आलोचना गर्नु पर्छ । आफूलाई आफ्नै दिल र दिमागले चिन्नु पर्छ । आफ्नो आलोचना गर्नु भनेको आफूले आफैलाई केरकार गर्नु र आफूलाई चिन्नु पनि हो । आफ्नो जीवन आफूसँग मात्रै हैन, परिवार, समाज र अरु धेरै कुरासँग जोडिएको हुन्छ । त्यसैले पनि आफूलाई चिन्न र आफ्नै आत्मा आलोचना गर्नको लागि आफूलाई आफ्नो आँखाबाट मात्रै हैन अरुको आँखाबाट हेर्नु पनि पर्छ ।

कुनै कुरा आफूले आफ्नो मनबाट स्वीकार गर्दा त्यसको जस र अपजस आफैले लिनु पर्ने भएकोले त्यसमा धेरै आत्मा सन्तुष्टि मिल्छ । त्यसैले जे निर्णय वा काम गर्ने हो त्यो आफ्नै मनलाई सोधेर गर्नु पर्छ । आफू जे छु त्यो पनि स्वीकार गर्नुपर्छ । आफैले आफूलाई स्वीकार नगर्ने हो भने अरुले आफूलाई स्वीकार गर्लान भन्ने ठान्नु हुन्न ।

जबसम्म आफूले आफैलाई चिन्न सकिंदैन तबसम्म जिन्दगीमा धेरै कुरा प्राप्त गर्न सकिंदैन । आफ्नो गुण र सामर्थ्यको आधारमा निर्धारण गरिने गन्तब्यमा हामी सजिलै पुग्न सक्छौ । आफूले पहिचान गरेको कमजोरीको बारेमा कसैले आफूलाई आलोचना गर्यो भने त्यसलाई हामी सजिलै स्वीकार गर्न सक्छौ । आफूले आफ्नै लागि जानेको आफ्नो गुणको बारेमा कसैले आफ्नो प्रशंसा गर्यो भने मन फुरुङ्ग हुन्छ । त्यसैले पनि अरुले आफूलाई गर्ने आलोचनालाई स्वीकार गर्न मात्र हैन अरुले आफूलाई गर्ने प्रशंसालाई जोख्न पनि आफूले आफूलाई चिन्नु जरुरी हुन्छ ।

मानिसले आफूलाई चिन्न सक्दैन भने अरुलाई पनि चिन्न सक्दैन । आफ्नो गुण र दोष नजान्नेले अरुको बारेमा कुरा गरेको सुहाउँदैन पनि । अरुको बारेमा जान्नको लागि अरुको मन भित्र पस्नु पर्छ । अरुको मन भित्र पस्नु भनेको असम्भब कुरा हो । आफ्नो मन र मष्तिकलाई आफू भन्दा पर कसैले पनि न त पढ्न सक्छ न त जान्न नै ।

आफूले आफूलाई चिन्नको लागि आफ्नो मनसँग आफैले अन्तरक्रिया गर्नु पर्छ । आफ्नो मनसँग अन्तरक्रिया गर्नको लागि सही समय र स्थानको जरुरत पर्छ । त्यस्तो समय र ठाउँ भनेको शान्त र एकान्त ठाउँ जहाँ आफ्नो मन बिचलित नहोस र मन पूर्ण रुपमा रमाउन सकोस । मन एकदम खुल्न सकोस । जहाँ आफूले आफैसँग अन्तरक्रिया गर्न सकिंदैन त्यो ठाउँ आफ्नो हुन सक्दैन । त्यस्तो ठाउँमा मन पनि रमाउन सक्दैन ।

मेरो बिचारमा यदि आफू भित्र कुनै कमि कमजोरी वा खराबी छ भने बाहिर पनि खराबी नै देखिन्छ । वा, आफ्नो कार्य क्षमतामा पनि त्यो कुरा प्रष्ट देखिन्छ । त्यसैले पनि आफ्नो कार्य क्षमता बढाउन वा आफ्नो आनीबानीमा सुधार गर्न पनि आफूले आफूलाई चिन्नु पर्छ । यदि आफैले आफ्नो मूल्य थाहा नपाउने हो भने वा आफ्नो सामर्थ्य नजान्ने हो भने अरुले आफूलाई नजरअन्दाज गर्न सक्छन । मानिसको स्वभाब नै हो, कसैले आफूलाई कम ठानेको वा नजरअन्दाज गरेको कुरा सजिलै स्वीकार गर्न सक्दैन ।

हामी हाम्रो परिवार, समाज वा अरुसँगको सम्बन्धको बारेमा धेरै सोच्ने गर्छौ र धेरै कुरा गर्छौ पनि । तर, आफ्नो आफूसँग कस्तो सम्बन्ध छ भन्ने कुरा सोच्दैनौ । कुनै मानिसले आफूसँगको आफ्नो सम्बन्धलाई पनि सोच्नु पर्छ । आफ्नो आफूसँगको सम्बन्ध भनेको आफूले आफ्नो बारेमा सोच्नु, आफ्नो बारेमा पनि ध्यान दिनु र आफ्नो रुची वा बिचार अनुसार जिउनु पनि हो । आफ्नो आफूसँगको सम्बन्ध जति शक्तिशाली सम्बन्ध अरु कुनै पनि हुँदैन । तसर्थ पनि आफूले आफैलाई चिन्नु र आफू सँगको आफ्नो सम्बन्ध लाई सबल बनाउनु सबैको सफल जीवनको लागि उत्तिकै जरुरी हुन्छ ।

कुनै पनि सुन्दरीले आफू कति सुन्दरी छु भन्ने कुरा एना अघि बसेर आफूले आफैलाई नहेरी थाहा हुँदैन । त्यस्तै आफू कति सक्षम, योग्य, गुणी छु भन्ने कुरा जान्नको लागि पनि आफूले आफैलाई चिन्नु पर्छ । अनि मात्रै आफ्नो बाटो पहिल्याउन र गन्तब्यमा पुग्न सकिन्छ । आफ्नो जिन्दगीमा आफैले वा अरुले राज गर्ने भन्ने कुरा आफैले निर्णय गर्ने कुरा हो । आफूले आफूलाई राज गर्न पहिले आफूले आफैलाई चिन्नु पर्छ । तसर्थ मेरो बिचारमा पहिले आफूले आफैलाई चिने पछि मात्र अरुले पनि आफूलाई सही रुपमा चिन्न सक्छन ।

(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोसियट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् ।)