कुशल श्रेष्ठ

वर्षौँदेखि, विज्ञहरूले पाउरोटी र मोटोपनाको सम्बन्धको बारेमा धेरै टिकाटिप्पणीहरू गर्दै आइरहेका छन्। स्वस्थ खानाको संसारमा पाउरोटीलाई त अझै महाखलनायक नै भन्ने गरिन्छ। तर पनि पाउरोटी मन नपराउने सायदै कोही होलान्!

तर, के पाउरोटी हानीकारक छ? के यसले मोटोपना बढाउँछ?

हामीले खाने धेरैजसो खानेकुराहरू स्वस्थ हुँदैनन्, कुनैमा धेरै बोसो हुन्छ भने कुनैमा चाहिने जति पौष्टिक तत्वहरू हुँदैनन्। कुनै-कुनै खानेकुरालाई त स्वस्थ खानाको शत्रु नै मानिन्छ।white bread

पाउरोटीमा ग्लाइसेमिक इन्डेक्स (glycemic index) को मात्रा धेरै भएकोले हाम्रो शरीरको लागि हानीकारक हुन्छ भन्ने एउटा समूह छ भने अर्को तर्फ यसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै भएकोले फाइदाजनक हुन्छ भन्ने समूह छ।

सबैले सोध्ने प्रश्नः “के पाउरोटीले मलाई मोटो गराउँछ?”
सेतो पाउरोटी तपाईँको दैनिकी आहारमा नपार्नुहोस्, किनभने….

सेतो पाउरोटी पीठोलाई खारेर बनाइएको हुन्छ, त्यसैले यसमा पौष्टिक तत्व र फाइबरहरू पाइँदैनन्। जसले गर्दा यो पाउरोटीलाई हाम्रो पाचनप्रक्रियाले चाँडै पचाउन सक्छ, तर रगतमा सुगरको मात्रा ह्वात्तै बढाउँछ। अनि जब रगतमा सुगरको मात्रा बढ्दै जान्छ, हाम्रो शरीरले उक्त सुगरबाट धेरैभन्दा धेरै ऊर्जा निकाल्नको लागि ‘इन्सुलिन’ (Insulin) को मात्रा पनि बढी पैदा गराउँदछ। अन्ततः केही समयमा इन्सुलिनको मात्राको सीमा पार भएपछि हामीमा मधुमेहको लक्षण देखा पर्दछ।

त्यसमाथि, इन्सुलिनको थप मात्रा बढेमा शरीरमा बोसो जम्मा हुँदै जान्छ।

तर, आँटाको रोटी भने तपाईँको पहिलो रोजाइँ हुनुपर्छ, किनभने….

घरमै फलेको अन्न जस्तै गहुँ, फापर, कोदो, जौ को रोटीमा फाइबरको मात्रा बढी हुने गर्दछ, त्यसैले यसले कुनै पनि हानी गर्दैन। यस्ता अन्नबाट बनेका रोटीको विशेषताले गर्दा पुराना रोगहरू (क्यान्सर, मधुमेह, मोटोपना र कब्जियत) लाई पनि हटाउँदछ। यसमा विभिन्न किसिमका पौष्टिक तत्वहरू पाइनुका साथै खनीजपदार्थहरू पनि प्रशस्तै पाइन्छन्।

तथापी, याद गर्नुहोस् कि यो सबै अन्नको गुणस्तर र त्यसमा हुने प्रोटिनको मात्रामा भर पर्ने कुरा हो। यस्ता अन्नबाट बनेका रोटीले रगतमा सुगरको मात्रा बढाउने काम गर्दैन र सेतो पाउरोटीको दाँजोमा यो धेरै नै फाइदाजनक पनि छ।

“के पाउरोटीले मोटोपना बढाउँछ त?”…

हो, बढाउँछ! तर धेरै खानुभयो भने मात्रै। त्यसैले आँटाको रोटी रोज्नुहोस् र दिनमा २\४ वटा खानुभयो भने मोटोपना बढाउने होइन कि झन् तपाईँको शरीर स्वस्थ हुँदै जानेछ।