२५ असोज, काठमाडौं ।


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन ।

बुधबार रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन ।

मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन । केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे ।

उनले ५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिए । मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए ।