-कुशल श्रेष्ठ

तपाईँले दिनभरीमा हेडफोनको प्रयोग कत्तिको गर्नुहुन्छ? हेडफोनमा गीत सुन्दा कत्तिको चर्को आवाजमा सुन्नुहुन्छ? अनि कहिलेकाहिँ अलि धेरै समयसम्म हेडफोन अथवा इयरफोनको प्रयोग गर्दा तपाईँको कानको सुन्ने शक्तिमा केहि असर परेको जस्तो लाग्दैन? अनि फेरी धेरै हेडफोन लगाउँदा बाहिर आफ्नो अभिभावक अथवा साथीहरूले बोलेको नसुन्दा गाली पनि त पक्कै खानुहुन्छ होला!

हेडफोनको विकास कसरी भयो?

हेडफोनको अधिकतम प्रयोग गर्दा के हुन्छ भनेर जान्नुभन्दा अगाडि हेडफोनको विकास कसरी भयो भनेर थाहा पाइराख्दा राम्रो। पहिलो चोटी हेडफोनको विकास सन् १९१० मा ‘यूटा’का ‘नेथनियल बाल्डविन’ले गरेका थिए। उनले पहिलो हेडफोनको जोडी अमेरिकाको नौसेनालाई बेचेका थिए। उनीहरूले प्रयोग गरिरहेका प्रविधिभन्दा राम्रो भएपछि यो हेडफोनलाई नौसेनाले मन पराएका पनि थिए।First Headphone

त्यसपछि दोस्रो विश्व युद्धपछि ज्याज सङ्गीतकार ‘जोन कस’ले पहिलो चोटी सङ्गीतकै लागि उपयुक्त हुने हेडफोनको विकास गरेका थिए। उनले यसमा कनसर्ट हलमा बज्ने सङ्गीतको जस्तै ध्वनी समावेश गरेका थिए, जसले गर्दा सङ्गीत प्रेमीहरूले यसलाई निकै रूचाएका थिए।Headphone by John Koss

करीब ३० वर्षसम्म हेडफोनको प्रविधिमा विकास भएको थिएन। त्यसपछि ‘सोनी’ कम्पनीले मानिसको कानमा छिराउन मिल्ने ‘इयरफोन’को विकास गरेका थिए, जुन सोही कम्पनीको ‘वाकम्यान’सँग बजारमा भित्रिएको थियो। मानिसहरू सामुन्ने यो धेरै प्रचलित हुन सकेन। अनि सन् २००१ मा एप्पल कम्पनी र ‘स्टिभ जब्स’ले ‘आइपड’को विकास गरेका थिए र त्यससँगै सेतो रङ्गको ‘इयरफोन’ पनि समावेश गरिएको थियो। यो प्रविधि भने धेरैले रूचाएका थिए।Apple Earbuds

हेडफोनको प्रयोग धेरै मात्रामा गर्दा के हुन्छ?

आजभोली प्रविधिको विकास यत्ति धेरै भइसकेको छ कि सङ्गीत सुन्नको लागि पहिलेको जस्तो ब्याट्रीबाट चल्ने रेडियो बोकेर हिँडिराख्नु पर्दैन। आ-आफ्नो खल्तीमा एउटा मोबाइल हुन्छ अनि त्यो मोबाइलमा जोडेको एउटा इयरफोन! यत्ति भएपछि युवावर्गहरूले दिन बितेको पत्तै पाउँदैनन्। युवावर्ग मात्रै कहाँ हुन् र जुन पनि सङ्गित प्रेमीहरूको साथमा हेडफोन भएपछि आफूलाई बाहिरी दुनियाँबाट टाढा राखिरहेका हुन्छन्।say what

तर यी सबै प्रविधि र मनोरञ्जनको लागि सबैले आफ्नै मूल्य चुकाउन परिरहेको हुन्छ। पहिला पहिला मानिसहरूको श्रवण शक्ति हराउनुको मुख्य कारण ध्वनी प्रदूषण हुने गर्दथ्यो, तर आजभोली धेरै जसो युवाहरूमा श्रवण शक्ति गुम्नुको कारण धेरै हेडफोन अथवा इयरफोनको प्रयोग गर्नाले हुने गर्दछ। हो, हेडफोनमा सङ्गीत सुन्नुको मज्जा नै बेग्लै हुन्छ तर यो हेडफोन तपाईँ हाम्रो शरीरको लागि एकदम हानीकारक पनि हुन्छ। यदि सहि सदुप्रयोग गर्न नजाने मानिसलाई बहिरो पनि गराउँदछ।

हेडफोनको आवाज कति हुँदा उचित हुन्छ?

ध्वनीलाई मापन गर्ने एकाई ‘डेसिबल्स’ (Decibels, dB) हो। साधारणतयाः मानिसले -१५ डेसिबल्स देखि ८५ डेसिबल्स सम्मको ध्वनीलाई सुन्न सक्दछ। यदि ध्वनी ८५ डेसिबल्स भन्दा बढी भयो र मानिसले त्यसलाई सुन्यो भने आधा घण्टा भित्रै मानिसको श्रवण शक्ति सँधैको लागि जान सक्छ।

सामान्यतयाः हामीले चलाउने मोबाइलले १२० डेसिबल्स सम्मको ध्वनी निकाल्न सक्छ। हेडफोनमा सङ्गीत सुन्दा पुरै भोल्युम लगाएर सुन्नुभयो भने आफै महशुस गर्न सक्नुहुन्छ कि कत्तिको पीडा हुन्छ भनेर। त्यसैले धेरै जसो ध्वनी वैज्ञानिकहरूको अनुसार तपाईँको मोबाइलको फुल भोल्युमको ६० प्रतिशतमा मात्र सुन्दा पनि एक दिनमा ६० मिनेट भन्दा बढी सुन्नुहुँदैन, नत्र तपाईँको श्रवण शक्ति बिस्तारै खस्किँदै जानेछ।

यदि तपाईँ अभिभावक हुनुहुन्छ र तपाईँको छोराछोरी अथवा भाइबहिनीहरूले हेडफोनमा गीत सुन्दै हुनुहुन्छ भने उक्त हेडफोनबाट आवाज बाहिर सुनिन्छ कि सुनिँदैन विचार गर्नुहोस्। यदि आवाज हेडफोनबाट बाहिर पनि सुनिन्छ भने जान्नुहोस् कि उसले चर्को ध्वनीमा सुन्दै छ र यसले श्रवण शक्तिमा असर पर्दछ।

श्रवण शक्ति कमजोर हुँदै गएको कसरी थाहा पाउने?

विशेषतः हेडफोनको प्रयोगले श्रवण शक्ति गुम्दा अकस्मात हुन पनि सक्छ र बिस्तारै (दिनानुदिन) पनि हुन सक्छ। यसले कुनै लक्षण बिना नै तपाईँको सुन्ने शक्तिलाई लैजान सक्छ। तथापी, यदि तपाईँ अथवा तपाईँको छोराछोरी, आफन्त, अनि साथीभाइमा निम्न किसिमको लक्षण देखापरेमा तुरुन्त उपचारको लागि लैजानुहोला-

– कानमा केहि बजेको, घुरेको, सुसाको अथवा कराको जस्तो महशुस हुँदा
– अलि धेरै मानिसहरू भएको ठाउँमा कसैले बोलेको बुझ्न गाह्रो हुँदा
– कान डम्म भएर टालिने अथवा कानमा केहि घुसेको जस्तो महशुस हुँदा
– पहिले भन्दा चर्को आवाजमा टि.भी अथवा रेडियो सुन्न थाल्दा

सङ्गीत जीवनको एक महत्वपूर्ण हिस्सा हो, तर यसैले गर्दा तपाईँको शरीरको महत्वपूर्ण हिस्सालाई सँधैको लागि तपाईँबाट टाढा पनि लैजान सक्छ। त्यसैले सङ्गीत पनि सुन्नुहोस् अनि आफ्नो कान पनि बचाउनुहोस्।

यो पनि पढ्नुहोस्।

के तपाईँलाई नचाहिने ठाउँमा प्वालहरू देख्दा डर लाग्छ? के हो ट्राइपोफोबिया?

ताज महलको बारेमा अझसम्म थाहा भएको कुरा झुट सावितः साँचो रहस्य खुल्यो