२४ साउन, काठमाण्डौ ।

अघिल्लो संविधानसभाले तय गरेका आधार भत्काएर ४ दलबीच सहमती भई त्यसैका आधारमा संविधान जारी गर्न खोजिएको भन्दै एकीकृत माओवादी भित्रका मधेसी सभासद्ले तिब्र असन्तुष्टि जनाएका छन् ।

उनीहरुले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै अहिलेकै प्रस्ताव अनुसारको संविधान जारी गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । एमाओवादीका झण्डै एक दर्जन सभासद्ले त्यसका विरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने समेत बताएका छन् ।

एमाओवादी सभासद् उमेशकुमार यादवले पहिचान मेटिने, विगतका सबै सहमती उलंघन गर्ने र उत्पिडिन समुदायको चाहना विपरितको संविधान जारी गर्न लागिएको भन्दै विरोध गर्ने बताए ।

अघिल्लो संविधानसभाले पहिचानका पाँच र सामाथ्र्यका चार आधार अनुसार प्रदेश निर्धारण गर्ने गरी त्यसकै जगमा १६ बुँदे सहमती भएपनि त्यसलाई वेवास्ता गरिएको उनीहरुको भनाई छ ।

‘पहिले झापा, मोरङ र सुनसरीलाई कोच प्रदेश प्रदेश बनाउने भनिएको थियो, अवध र थारुवान प्रदेश बनाउने भनिएको थियो, ती प्रदेश कता हराए ? अहिले हामी तिनै प्रदेश खोज्न हिडिरहेका छौं, यादवले भने ।

त्यसका लागि कांग्रेस, एमाले र फोरक लोकतान्त्रिक भित्रका मधेसी सभासद्हरुसँग पनि कुरा भइएरहेको र संयुक्त रुपमा विरोधमा उत्रने उनीहरुको भनाई छ । तर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितलाई सकारात्मक रुपमा लिँदै संविधान निर्माणमा अवरोध भने नपुरयाउने यादवको भनाई छ । ं ।