विकश श्रेष्ठ ।
३ भदौ, सोल ।

नेपाल सरकारले हुण्डी कारोबारलाई अवैधानिक घोषणा गरेपनि प्रभावकारीरुपले नियन्त्रण गर्ने नियामक निकाय नहुदाँ विदेशमा नेपाली कामदार ठगिने क्रम रोकिएको छैन् । दक्षिण कोरियामा अवैधानिक रुपमा हुण्डीको कारोबार गर्दै आएका एक व्यापारी नेपाली कामदारको लाखौ रकम संकलन गरेर फरार छन् ।

कोरियाको सुवन शहरमा व्यावसाय सञ्चालन गर्दै आएका गुल्मीका गोविन्द पोखरेल लाखौ रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् ।

ठगी आरोप लागेका गोबिन्द पोखरेल

ठगी आरोप लागेका गोबिन्द पोखरेल

फारानमा कार्यरत एक नेपालीले पोखरेल मार्फत दश दिन अघि पन्ध्र लाख रुपैया नेपाल पठाएका थिए । नेपाल सम्पर्क गर्दा पैसा नपाएको खबर पाएपछि उनले पोखरेललाई पटक पटक फोन सम्पर्क गरेका थिए । फोन सम्पर्क नभएपछि उनी पोखरेलले सञ्चालन गरेको पसलमा गएका थिए । त्यहाँ पुग्दा पसल बन्द भएपछि उनी छाँगाबाट खसे झै भए ।

त्यस्तै ह्वासंगको एक कम्पनीमा कार्यरत एक नेपालीले पनि दुइ साता अघि पोखरेल मार्फत पठाएको पैसा नेपालमा नपाएको गुनासो पोखेका छन् । यसैगरी अर्का पिडितले दुइ साता अघि पोखरेल मार्फत नेपाल पैसा पठाएको तर नेपालमा पैसा नपाएको खबर पाए पछि उनी पोखरेलको पसलमा गएका थिए । पसल बन्द र पोखरेलको मोबाइल स्वीच अफ भएपछि उनले आफुले रकम ट्रान्सर गरेको कोरियन खातावालासँग सम्पर्क गरेका थिए । उनले पैसा फिर्ता नगरे प्रहरीमा उजुरी गर्ने धम्की पछि कोरियनले पैसा फिर्ता गरेको बताए । यस बाहेक पोखरेल अन्य दर्जनौ नेपालीको पैसा संकलन गरेर भागेको आशंका गरिएको छ । पच्चिस वर्ष अघि कोरिया आएका पोखरेल चिनियाँ व्यापारीका कारण पैसा डुबेर फरार भएको आशंका छ ।

हुण्डी कारोबार अवैधानिक भनेर नेपाल सरकारले भने पनि यसलाई नियन्त्रण गर्ने निकाय नहुदाँ कोरिया, इजरायल लगायत नेपाली कामदार रहेका मुलुकहरुमा कारोबार फस्टाएको छ । बैक मार्फत पैसा पठाउदाँ बढी शुल्क तिर्नुपर्ने तथा बैकिङ कारोबार झन्झटिलो भएकोले कोरियाबाट हुण्डी मार्फत नेपाल पैसा जाने गरेको छ । केही दिन अघि नेपाल हाउसमा भएको एक कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले समेत हुण्डी कारोबारीलाई आसन्न गैरआवासिय नेपाली संघ एनआरएनए कोरियाको नेतृत्वमा चयन नगर्न आग्रह गरेका थिए । यसबाट प्रष्ट हुन्छ की हुण्डी कारोबार रोक्न सरकारी निकाय नै असक्षम देखिएको छ ।