नेपालमा क्यान्सर रोग निक्कै ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालमा वर्षेनी १० हजारभन्दा बढी क्यान्सर रोगका नयाँ विरामी देखा पर्ने गरेका छन् । यो कस्तो खालको रोग हो, यसका लक्षणहरु कसरी थाहा पाउने र बच्ने उपायहरु के हुन् । प्रस्तुत छ यसै विषयमा नेपालीहेडलाइन्सले क्यान्सर रोग विषेशज्ञ डा. रोशन प्रजापतिसँग गरेको कुराकानीः

  • एकैचोटी क्यान्सर भएको भनेर थाहा पाइदैन ।
  • कुनै गिर्खा आएको छ र बढ्दै गएको छ भने आफै पनि जाँच्न सकिन्छ ।
  • खोकी, निमोनिया एक दुई हप्तामा निको भएन भने क्यान्सर हो की भनेर शंका गर्नुपर्छ ।
  • महिनावारी भएको ५ दिनमा आफैंले पनि स्तन छामेर कुनैगाँठा आएको छ की छैन पत्ता लगाउन सकिन्छ ।
  • तेस्रो स्टेजसम्म्को क्यान्सर निको हुन्छ, चौथो स्टेजकोलाई बचाउन निक्कै गाह्रो हुन्छ ।
  • पश्चिम नेपालको एक ठाउँमा आफ्नो स्तन अरुलाई देखाउन दिनुहुन्न भन्दै श्रीमानले श्रीमतीको परीक्षण गर्न दिएनन् ।
  • समयमैं सचेत हुने हो र पहिचान भयो भने क्यान्सरबाट डराईहाल्नु पर्दैन । उपचार गर्दा निको हुन्छ ।
क्यान्सर कस्तो खालको रोग हो ?

क्यान्सर नसर्ने हो । कुनै पनि कोशिकाहरुको अनियन्त्रित बृद्धि हुनु हो । जुन अंगमा वृद्धि हुन्छ यसले असर गर्छ । यो एउटा अंगबाट अर्कोमा पनि सर्छ । अनियन्त्रित रुपमा बृद्धि भएका कोशिकाहरुलाई समयमैं उपचार गर्न सकिएन भने मृत्युको कारण बन्न सक्छ ।

जस्तो फोक्सोमो पनि कोशिकाहरु हुन्छन् । कुनै कोशिका उत्पादन भएपछि समयक्रममा त्यो मर्नुपर्छ । तर, मरेन भने कोशिका अरु अनियन्त्रित रुपमा एउटा डल्लोको रुपमा जम्मा भएर बस्छ । जसरी हामी बच्चा, ठूलो, परिपक्क हुन्छौं हामी मर्छौ । कोशिका पनि यस्तै हुन् यो बढ्छ, निश्चित अवधिका त्यो मरेन भने जम्मा भएर बस्छ, डल्लो बढ्दै जान्छ यो ट्युमर हो ।

ट्युमर पनि दुई खालको हुन्छ ।

एउटा निश्चित अवधिमा बढेपछि रोकिन्छ । यसले केही असर गर्दैन । छाला, स्तन, पाठेघरमा कतिपय गाँठा हुन्छन् कहिलेकाँही यस्तो असर नगर्न पनि सक्छ । निश्चित आकारमा विस्तारै बढ्ने यस्तो ट्युमरको उपचार नगरे पनि फरक पर्दैन ।

तर, अर्को ट्युमर बढिरहन्छ, उपचार नगरेसम्म त्यो रोकिंदैन । यसलाई उपचार चाहिन्छ । यो नै क्यान्सर हो ।

यो त उपचार गर्दा पहिचान हुने कुरा भए तर, बाहिरी रुपमा देखिने क्यान्सरका लक्षणहरु के के हुन् ? क्यान्सर भएको कसरी थाहा पाउने ?

एकैचोटी क्यान्सर भएको भनेर थाहा पाइदैन । यो रोगको लक्षणसँगै मिल्दोजुल्दो हुन्छ । जुन अंगमा भयो त्यसकै लक्षण देखा पर्छन् । फोक्सोमा भयो भने डल्लो बढ्दै आउँदा श्वास फेर्न गाह्रो हुने, स्वास्वा हुने, खकारमा रगत देखा पर्ने हुन्छ ।

खाने नलीमा क्यान्सर भएको हो भने खाना ब्लक हुन्छ । खाना लगत्तै बान्ता हुन्छ । उपचार नभएसम्म घाउँहरु निको हुँदैन । कुनै गिर्खा आएको छ र बढ्दै गएको छ भने आफै पनि जाँच्न सकिन्छ ।

कसरी जाँच्ने क्यान्सर ?

कुनै अंगमा क्यान्सर भएको छ त्यो अंगको मासु निकालेर जाँच्नुपर्छ । सिओले मासु निकालेर परीक्षण गरेपछि थाहा हुन्छ । कसैलाई लामो समय ज्वरो आयो र एन्टिबायोटिक खाँदा पनि नरोकिने, रगत बागिरहने भयो भने ब्लड क्यान्सर भएको हुन सक्छ ।

रगतमा तीनवटा तत्व हुन्छ । एउटा हेमोग्लोबिन हामी यसलाई रक्तअल्पता भन्छौं । यो कम भयो भने बढी कमजोर बनाउँछ ।

अर्को डब्ल्युबिसी अर्थात हाम्रो इम्युनिटी पावर हो । यो ४ हजारदेखि ११ हजारसम्म हुनुपर्छ ।

सेल अपरिपक्व भयो भने अनियन्त्रित रुपमा बढ्ने हुन्छ । अपरिपक्व सेलले काम गर्दैन । ७ वा १० दिन उपचार गर्दा पनि निको भएन भने क्यान्सर भएको हुन सक्छ । छालामा कुनै कोठी आयो, बढ्यो, रंगमा परिवर्तन आयो भने कोशिका बढ्दै जाने हुन्छ । खोकी लाग्ने, औषधी गर्दा निको नहुने, लामो समयसम्म लागिरहने, खकारमा रगत देखिनु पनि क्यान्सरका लक्षण हुन् ।

अर्को पिशावमा रगत देखिनु, आनीबानीमा परिवर्तन हुनु, पेट फुल्दै जानु पनि क्यान्सनका लक्षण हुन सक्छन् ।

रोग लागेर फैलिएपछि मात्र अस्पताल जाने र परीक्षण गरेपछि मात्र थाहा हुने हामी धेरैको बानी छ । डाक्टरले समयमैं संकेत देखिएर शंकाका भरमा रिफर गर्दैनन् पनि भनिन्छ नी ?

नेपालमा क्यान्सरको डाइग्नोसिस गर्ने सेन्टरहरु धेरै छैनन् । जिल्ला, अंचल, विकास क्षेत्रमा छैनन् । लामो खोकी लागिरह्यो भने कुनै मानिस औषधी पसलमा पुग्छ । समयमा डाक्टरकोमा पुग्दैन । मेडिकलको औषधी खान्छ र काम गरिरहन्छ ।

क्यान्सरबारे चेतना छैन । डाइग्नोसिस सेन्टर पनि छैनन् । बाहिर देशमा जस्तो नेपालमा इन्स्युरेन्स छैन । नियमित रुपमा स्वास्थ्य जाँच गर्ने चलन नहुँदा पनि समस्या छ । केहीले सामाजिक समस्याको रुपमा लिंदासमेत समस्या छन् ।

कस्ता समस्या छन् ?

पश्चिम नेपालको एक ठाउँमा केही समय अघि श्रीमानले श्रीमतीको स्तनको जाँच गर्नै दिएनन् । श्रीमतीलाई समस्या भए पनि आफ्नो स्तन अरुलाई देखाउन दिनुहुन्न भन्दै उनले परीक्षण गर्न दिएनन् । यस्ता उदाहरण अरु पनि धेरै छन् ।

कसरी जनचेतना फैलाउने ?

यस्ता विषयमा सचेतना फैलाउन शिक्षा नै पहिलो शर्त हो ।

सुरुमा किन देखिंदैन र बढी फैलिएपछि मात्र देखिन्छ ?

कुनै अंगमा समस्या नभएम्म क्यान्सर लागेको देखिंदैन । फोक्सो सफा भएको बेलासम्म क्यान्सरको डाइग्नोसिसतिर लागिदैन । जस्तै खाने नलीको क्यान्स हुँदा सुरुमा सजिलै खान सकिन्छ जब बढेर खाना निल्नै नसकिने हुन्छ तव क्यान्सर भएको आशंका गरिन्छ ।

गाह्रो भएपछि स्टेज थर्ड भइसकेको हुन्छ । तब घाउ भएपछि मासु निकालेर जाँचिन्छ । फोक्सो पनि यस्तै हो । ट्युमर ठूलो भएर जब नशामा छुन्छ, रगत बग्ने, खोकी लाग्ने हुन्छ तब लक्षण देखिन्छ । खोकी, निमोनिया एक दुई हप्तामा निको भएन भने क्यान्सर हो की भनेर शंका गर्नुपर्छ । परीक्षण गर्नुपर्छ ।

महिला र पुरुषलाई कस्तो क्यान्सर हुन्छ ?

खासगरी क्यान्सरको मामिलामा महिलालाई भाग्यमानी नै मानिन्छ, पुरुषको तुलनामा । किनकी नियमित रुपमा आफैंले पनि जाँच गर्ने हो भने क्यान्सर आफैं पत्ता लगाउन पनि सकिन्छ । महिनावारी भएको ५ दिनमा आफैंले पनि स्तन छामेर कुनैगाँठा आएको छ की छैन पत्ता लगाउन सकिन्छ ।

ऐनामा अगाडी बसेर आफैले हेरे थाहा पाउन सकिन्छ । छालामा कुनै परिवर्तन आएको छ की छैन थाहा हुन्छ । अर्कोतिर पाठेघरको क्यान्सर हुनुभन्दा ५ वर्ष अगाडि नै थाहा हुन्छ । यसरी तुलनात्मक रुपमा पुरुषभन्दा क्यान्सरको मामिलामा महिला बढी भाग्यमानी मानिएमा हुन् । तर, हामी सामान्य अवस्थामा क्यान्सरको शंकामा जचाउँन जाँदैनौं ।

क्यान्सर वंशाणुगत र सरुवा रोग हो की होइन ?

एउटा मात्र क्यान्सरलाई सरुवा मानिन्छ । त्यो हो पाठेघरको मुखको क्यान्सर । शारिरिक सम्पर्क हुँदा यो पुरुषलाई सर्दैन । एचपिभी भन्ने भाइरस हुन्छ । यो मध्ये पाठेघरको मुखको क्यान्सर पनि हुन्छ । त्यही पुरुषको अर्को महिलासँग शारिरिक सम्बन्ध भयो भने चाँहि यस्तो क्यान्सर सर्न सक्छ । तर, पुरुपलाई सर्दैन । क्यान्सरमा एक अर्कोलाई सर्ने यही प्रकृतिको मात्र हो ।

अहिलेसम्म देखिएका क्यान्सरका प्रकारचाँहि कस्ता कस्ता छन् ?

क्यान्सर कुनै पनि अंगमा हुन सक्ने रोग हो । यो टाउकोदेखि खुट्टासम्म हुन्छ । यो रोग जुनसुकै उमेर, लिंगका मान्छेलाई हुन्छ । एउटा हेमालोटिस र अर्को सोलिड ट्युमर हुन्छ । नेपालमा हुने मुख्य क्यान्सरमा फोक्सोको क्यान्सर पर्छ । धुम्रपान, धूलो धुँवा प्रदुषणका कारण पनि यो हुन सक्छ । फोक्साको क्यान्सर धुम्रपान नगर्नेहरुलाई पनि लाग्छ । महिलामा पाठेघरको क्यान्सर मुख्य हो । पछिल्ला केही वर्षदेखि क्यान्सरमा कमी आएको छ ।

विदेशतिर पाठेघरको क्यान्सरको लागि भ्याक्सिन विकसित भइसकेको भनिन्छ । त्यो के हो ?

यो भर्खरै विकसित भएको भ्याक्सिन हो । यो लागू गर्न नेपाल सरकारलाई नै गाह्रो छ । यो विकसित देशमा नै विकास भएको हो । तर, यसको परीक्षण विकासशील देशबाटै हुँदै आएको छ । यहाँ पनि दुई वर्ष अघि परीक्षण गरिएको थियो । तर, सहज रुपमा उपलब्ध हुने गरी आइसकेको छैन ।

सजिलो रुपमा क्यान्सरको उपचार विधि कुन हो ?

क्यान्सर उपचारको सहज, प्रभावकारी विधि सर्जरी हो । कुनै अंगमा क्यान्सर भएको छ भन्ने त्यो अंगको टुक्रा नै काटेर फालेपछि ठिक हुन्छ । त्यसपछि किमोथेरापी र रेडियो थेरापी हुन्छ । कुनै पनि क्यान्सरको ओषधी नै किमो हो । नशाबाट स्लाइनपानीमा औषधी मिक्स गरेर दिइन्छ ।

यसले रगतबाट गएर क्यान्सरका कोशिकालाई मार्छ । क्यान्सर एक ठाउँबाट अर्कोबाट फैलिएको छ भने पनि सबैतिर काम गर्छ, सबैतिरका किटाणु मार्छ । रेडियो थेरापी भनेको विकिरणबाट जुन ठाउँमा क्यान्स भएको हो । त्यो ठाउँमा मात्र मार्छ ।

क्यान्सरको उपचार भइसकेपछि मान्छेको आयु कतिसम्म हुन्छ ?

क्यान्सरको उपचार गरेर लामो समय बाँचेका मानिस पनि छन् । लागेको सुरुमा नै थाहा पाउने हो पूर्ण रुपमा निको हुन्छ । तर, कुनै पनि क्यान्सरको जात नै कडा हुन्छ । सुरुमा उपचार गरेर निको पारे पनि फेरि फर्कने सम्भावना हुन्छ । कुन अंगमा लागेको हो त्यो हेरेर कसैको एक वर्ष, कसैको दुई कसैको तीनवर्षसम्म आयु गएको छ ।

कुन स्टेजसम्मको क्यान्सर निको हुन्छ ?

सामान्यतया तेस्रो स्टेजसम्म्को क्यान्सर निको हुन्छ । चौथो स्टेजको उपचार गरेर मान्छे बचाउन निक्कै गाह्रो हुन्छ । किनकी यो कुनै अंगमा लागेको छ भने अरु अगंमा सरिसकेको अवस्था हो । तर, पाठेघरको एउटा प्रकृतिबाहेक क्यान्सर एकजनाबाट अर्कोमा चाँहि सर्दैन । चौथो स्टेज भएपछि लक्षणलाई कम गर्ने दुखाई कमगर्ने प्रयत्नमा लागिन्छ ।

महिला र पुरुषमा कसलाई बढी क्यान्सर छ नेपालको सन्दर्भमा ?

५० वर्ष नाघेकालाई बढी क्यान्सर भएको पाइन्छ । तर, महिलाहरु बढी हुनुको कारण भनेको पाठेघरको मुखको, स्तनको क्यान्सर हुनुले हो । तर, पनि पुरुषहरुमा पनि धेरै क्यान्सर छ । स्तन क्यान्सर महिलालाई मात्र हुँदैन ०.१ प्रतिशत पुरुषलाई पनि हुन सक्छ ।

तर, राष्ट्रिय तहमा कूल क्यान्सरको रोगीको तथ्यांक छैन । नेपालमा वर्षेनी १० हजार बढी क्यान्सरका नयाँ रोगी थपिन्छन् यो मध्ये भक्तपुर क्यान्सर अस्पतालमा मात्र गतवर्ष तीन हजार चार सय उपचारको लागि आए । अहिलेसम्म क्यान्सरको उपचार गर्ने अस्पतालले मात्र क्यान्सर रोगीको तथ्यांक राख्दै आएका छन् ।

क्यान्सर लागेपछि नेपालमा उपचार गर्ने कहाँ ?

नेपालीहरुको क्यान्सरको औषधी नै महंगो छ । यो हरेक नेपालको आयस्रोतले धानेर उपचार गर्न सकिने अवस्थामा छैन । नेपाल सरकारले एक जनालाई एक लाख बराबरको उपचार खर्च सहयोग गर्छ । एक लाखले भ्याउन सक्ने अवस्था नै छैन । भारतमा सात लाखसम्म उपचार खर्च राज्यले दिंदै आएको छ । उपचारको लागि एक साइकलकै २० देखि २४ हजार रुपैयाँ पर्छ ।

नेपालका निजी अस्पतालमा क्यान्सरको उपचार गर्न निक्कै मंहगो पर्छ । त्यो बाहेक चितवनको भरतपुर र भक्तपुरको क्यान्सर अस्पताल नै क्यान्सरको उपचार गर्ने सरकारी अस्पताल हुन् ।

भनेपछि क्यान्सर उपचार नै नहुने रोग होइन ?

यो उपचार गरेपछि निको हुने रोग हो । तर, लामो र महंगो उपचार विधिमात्र हो । नेपालमा स्वास्थ्य बिमा, नियमित स्वास्थ्य चेक, नियमित स्वास्थ्य शिविर जाँच्ने र समयमैं पहिचान हुन सक्ने हो भने क्यान्सर लागिहाल्दा आत्तिनुपर्दैन ।

समयमैं सचेत हुने हो र पहिचान भयो भने क्यान्सरबाट डराईहाल्नु पर्दैन । उपचार गर्दा निको हुन्छ । सकेसम्म क्यान्सर हुनै नदिन व्यायाम, हिडडुल गर्ने, सन्तुलित खाना खाने जस्ता पक्षलाई विशेष ध्यान दिनुपर्छ । नियमित रुपमा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।