क्यान्सर उपचारार्थ विरामीको अगाडि यदि कसैले क्यान्सर शब्दको प्रयोग गरिदियो भने यसले विरामीको मानसिकतामा नकारात्मक असर गरिदिन्छ । उसले असहज अनुभुती गर्न सक्छ र जसले गर्दा उपचारमा थप चुनौती पर्न जान्छ ।

यो कुरा थाहा पाइसकेपछि पक्कै पनि विरामीको परिवार तथा आफन्तलाई पनि गाह्रो हुन सक्छ कि क्यान्सरको विरामीको अगाडी कसरी प्रस्तुत हुने? कसरी सहज वातावरण बनाउने?  

युनिभर्सिटि अफ डेर्वि र इम्पार्सल कलेजले संयुक्त रुपमा गरेको एक अनुसन्धानमा ३० देखि ४० उमेर समुहका ६ क्यान्सर पीडित रहेका महिलासंग अन्तरवार्ता गरिएको थियो । यो अन्तरवार्तामा उनीहरुमा कसरी उपचार प्रभावकारी बन्न सक्यो, उनीहरुको परिवार र आफन्तका कस्ता व्यवहारले कस्तो असर गर्यो भन्ने कुरा पत्ता लगाउन खोजिएको थियो।

के भन्नुहुँदैन क्यान्सर भएका व्यक्ति समक्ष? अनुसन्धानकर्ताले अध्ययन पछि केहि सुझाव दिएका छन्:

१. यदि मलाई पनि त्यस्तै रोग लाग्यो भने ? भनेर विरामीलाई कहिल्यै नभन्नुस् । विरामी अप्ठेरो परिस्थिती झेलिरहेको बेला कहिलेकाही साथीहरुले यस्तै असहयोगी खालको टिप्प्णी गरिदिन्छन् । यस्तो बेलामा विरामीलाई म तिम्रा लागी जे पनि गर्न तयार छु भन्ने खालको आश्वासन दिनुपर्छ। उसको ठाउँमा आफु भएको भए के गर्थे होला? भन्दै विरामीलाई सुनाउनु हुँदैन।

२. विरामीको अगाडी धेरै भावुक नबन्नुस:  विरामीको कुरा सुनेर उसको अगाडी धेरै भावुक बन्दा विरामीको मनोबल कमजोर हुनसक्छ।उसलाई रोग निको हुदै गईरहेको छ, आत्तिनु पर्दैन जस्ता आश्वासन दिएर मनोबल बढाउनु पर्छ।

३.विरामीलाई हल्का काम गर्न अफर गर्नुस् :  बिरामीले सक्दासम्म कहिलेकाहि घुम्न, घर सफा गर्न र सपिङ गर्ने मौका दिनुस् । साथै विरामीले चाहेको काम गर्न दिनुस् ।

४. विरामीले मागेको अनावश्यक तथ्य उपलब्ध नगराउनुस्।  बरु विरामीलाई अन्य तरिकाले सर्पोट गर्ने कोसिस गर्नुस् । विरामीसंगै हस्पिटल गइदिनुस् ।

५. विरामी यदि निको भएर फर्केमा उसलाई ओहो! तिमी ठिक भयौ ? भन्ने खालको व्यवहार नगर्नुस् । यसले व्यक्तिको मानसिकतामा नकारात्मक प्रभाव पर्न जान्छ ।

६. उपचारको क्रममा हेरचाह गर्ने व्यक्तिले विरामीसंग डाक्टरले जस्तो व्यवहार नगर्नुस।

७. सकेसम्म बिरामीलाई बिरामी जस्तो व्यवहार नगर्नुस्। उपचाररत विरामीको मनोबल गिराउने गरी अगाडी कठोर शब्द अनि व्यवहार नगर्नुस्।  विरामीको अगाडी सदैव सकारात्मक कुरा गर्दा उसको मनोबल बढाउन सकिन्छ।