२८ पुस, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन्।

जहाज मंगलबार राति साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त। तर जहाज उँड्दैन। करिब आधा घण्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन्।

चालकदलका सदस्यले बल्ल साँढे ११ बजे थाहा पाए – जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने बरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्विचअफ’ छ।

nepal-airlines-9n-acb

उडान तालिकाअनुसार उड्नु एक घण्टाअघि क्याप्टेन र को पाइलट विमानस्थल पुगिसकेको हुनुपर्दछ। तर, क्यापटेन गुरुङ भने मोवाइल फोन स्विचअफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्यो ।

तैपनि अर्को क्याप्टेन व्यवस्था गरेर जहाज उडाउँछन् कि भनेर थप आधा घन्टा जहाजभित्रै कुरेका यात्रु निराश हुँदै मध्यरात १२ बजेबाट जहाजबाट बाहिर निस्किए। निगम व्यवस्थापनले उनीहरूलाई मध्यरात बल्लबल्ल होटल खोजेर सुत्ने व्यवस्था मिलाइदियो।

उनीहरु बुधबार बिहान निगमकै त्यही जहाजबाट बल्ल दोहा उड्न पाए।

‘क्याप्टेन गुरुङको मोबाइल स्विच अफ भए पनि उनले उडानमा आउन नसक्ने जानकारी आठ/दस घन्टा पहिले नै दिनुपर्थ्यो तर पूरै बेवास्ता गरे,’ निगम सम्बद्ध स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘यसमा गुरुङ र निगम व्यवस्थापनको चरम लापरबाही छताछुल्ल भएको छ।’ आजको नागरिकमा खबर छ।