११ भदौ, काठमाडौं ।
क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल सिपानले क्रिकेटको आवरणमा मानव तस्करी भएको घटनाको छानविनको माग गरेको छ । सिपानले विज्ञप्ति निकालेर घटनाको तत्काल छानविन गरी सत्य तथ्य पत्ता लगाउन र त्यस्ता कार्यमा कोहि संलग्न रहेको पाइए कानुनी कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ ।

सिपानका महासचिव तथा क्रिकेट टिमका कप्तान पारस खड्काले निकालेको विज्ञप्तिमा खेलाडीलाई खेलसम्बन्धित कुनै पनि भ्रमणमा जानुअघि क्रिकेट एसोसिएसन अफ नेपाल क्यान, राष्ट्रिय खेलकुद परिषद वा सिपानसँग सम्पर्क गरेर जान मात्र आग्रह समेत गरिएको छ । क्रिकेट खेल्न भन्दै जापान गएका केहि गैर खेलाडी भएको र उनीहरुलाई जापानमा भगाइएको भन्दै समाचार सार्वजनिक भएपछि सिपानले यस्तो आग्रह गरेको हो ।

cricket team

जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै छाडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सरोकारवालालाई यसअघि नै निर्देशन दिइसकेको छ ।

गत १५ जुलाईमा नेपालको बेस्ट फुटबल क्रिकेट काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित १८ सदस्यीय टोली जापान लिएर गएको थियो । जापान गएकामध्ये नौजना नफर्केपछि क्रिकेटको आडमा मानव तस्करी भएको आशंका गरिएको छ ।