१३ मंसिर, इटहरी।

गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आज सुनसरी जिल्लाको इटहरीस्थित बराह बाहिनी मुख्यालय पकलीमा क्षेत्रीय सुरक्षा बैठक सुरु भएको छ ।

Itahari-Police meeting with home minister

बैठकमा समग्र तथा पूर्वी नेपालको सुरक्षा अवस्था एवम् वस्तुस्थितिका विषयमा बृहत् छलफल र भविष्यमा अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा छलफल हुने बताइएको छ ।

सुरक्षासम्बन्धी बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगु, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी लगायतको सहभागिता छ ।

बैठकमा पछिल्लो समयमा अघोषित नाकाबन्दीले पारेको प्रभाव तथा मधेस आन्दोलनले नेपाली जनजीवनमा पुगेको असहज परिस्थिति लगायत विषयमा जिल्लागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ ।