१ साउन, काठमाडौं ।

सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गरेर चाँडै प्रतिवेदन निर्वाचन आयोगलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा तथा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुबीच सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने जानकारी गराए । निर्वाचन आयोगले भने यही साउन १५ गते भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आफूले पाउनुपर्ने बताउँदै आएको थियो ।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले महत्वपूर्ण दुई निर्वाचन गर्नका लागी निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्ने आफुहरुले सरकारलाई जानकारी गराएको र यसमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।

प्रदेश र संघको चुनावका लागि आवश्यक पर्ने कानुनको मस्यौदा संसदमा पेश भइसकेको र र फास्ट ट्रयाकबाट त्यसलाई पारित गराउने तयारी सरकारको रहेको गृहमन्त्री शर्माले जानकारी दिए ।

बैठकमा गृहमन्त्री शर्माले मतदाता नामावली दर्ताका लागि जिल्ला नै जानुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अहिले नै यसबारे आयोगले केही भन्न नसक्ने तर छलफल गरेर चाँडै निर्णय गर्ने बताएका छन् ।