५ असोज, दोहा । कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरेका हुन ।

“कुनै पूर्व जानकारी र कुनै चेतावनी विना कतारमाथी जवरजस्ती लगाइएको नाकाबन्दी एक प्रकारको कपटपूर्ण व्यवहार हो,” अल थानीले भने ।

उनले हरेक राज्यको सार्वभौमसत्ताको सम्मान गरेर कलह अन्त्य गर्न आग्रह गर्दै वार्ताको माध्यमबाट समान हैसियत कायम गर्न पनि सबैको ध्यानाकर्षण गराए ।

गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा कतारका छिमेकी देशहरू बहराइन, इजिप्ट र यूएईले कतारलाई कूटनीतिक रूपमा एक्लाउने भन्दै नाकाबन्दी गरेका छन् ।

उनीहरूले आफ्नो आकाशमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन भने कतारसँगको कूटनीतिक सम्बन्ध एकपक्षीय रूपमा तोडेको बताएका छन् ।

कतारले आतंकवादीहरूलाई सहयोग र समर्थन गरेको ती देशहरूको आरोप छ । तर कतारले भने त्यसलाई पूरै अस्वीकार गर्दै आइरहेको छ ।

“हतारले आफै आतंकवादसँग लडिरहेको छ, अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई महसुस गरेकै छ, आगामी दिनमा पनि आतंकवादविरुद्ध लडिनै रहने छ,” कतारी राजा अल थानीले भाषणका क्रममा भने ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गरेर आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गरेका छन ।