कुशल श्रेष्ठ
अधिकांश नेपालीहरूको बानी यहि हुन्छ कि उनीहरू खाना खानेबित्तीकै ‘भाते निन्द्रा’ लाग्यो भन्दै सुत्ने गर्छन्। हुन त खाना खानेबित्तीकै उत्तानो परेर सुत्दा मीठो निन्द्रा लागेको जस्तो हुन्छ, तर त्यसो गर्दा भित्रभित्रै नकारात्मक असर परिरहेको हुन्छ। एसिडिटी, ग्यास्ट्रिक, मोटोपना अनि हृदयघात जस्ता समस्याहरू यहि बानीले गर्दा नै उत्पन्न हुने हो।
के हुन्छ त, खाना खानेबित्तीकै सुत्दा?
यदि कुनै पनि व्यक्तिलाई पहिल्यै देखि ग्यास्ट्रिक र एसिडिटीले सताइराख्ने समस्या छ भने उसको लागि ‘विश्व स्वास्थ्य संघ’ले “खाना खाएको कम्तीमा पनि ३ घण्टा पछि मात्रै सुत्ने” सुझाव दिएको छ। किनभने एसिडिटी हुनेहरू खाना खानेबित्तीकै सुत्नाले उसको घाँटीमा क्यान्सर हुने सम्भावना बढ्दछ।
मोटोपना र ग्यास्ट्रिक
यदि कुनै व्यक्तिलाई एसिडिटी र ग्यास्ट्रिकले सताउने गरेको छैन भने पनि खाना खाएको कम्तीमा ९० मिनेटपछि मात्रै सुत्नुपर्ने चिकित्सकहरू सल्लाह दिन्छन्। जब हामी सुत्छौँ, तब हाम्रो पाचनप्रक्रियामा सामान्यभन्दा ढिलाई आउन थाल्दछ। पाचनप्रक्रियामा मात्रै होइन, अन्य प्रक्रियाहरू पनि सामान्यभन्दा शिथिल हुँदै जान्छ। जसले गर्दा शरीरलाई दिनमा भन्दा कम ऊर्जाको आवश्यकता पर्दछ।
अनि जब हामी खाना खानेबित्तीकै सुत्छौँ, तब सुरुमा त पचाउने प्रक्रिया ढिलो हुन्छ र पेटमा ग्यास्ट्रिकको लेभल बढ्दै जान्छ। त्यसपछि त्यो ग्यास्ट्रिक एसिड भोजननलीको द्वार पार गरेर माथि छातितर्फ फर्किन थाल्द र भोजननलीको भित्तामा असर गर्न थाल्दछ, जसको कारण छात्ती पोल्ने, कुनै कारणबिना राति निन्द्रा खुल्ने, पेट डम्म हुने हुन्छ र मुखबाट अमिलो पानी पनि आउने हुन्छ।
त्यसलगायत अर्को एउटा खतरनाक प्रक्रिया पनि सुरु हुन थाल्दछ। जबरजस्ती गरेर अलिअलि पचेको खानाबाट निस्कने ऊर्जा पनि शिथिल शरीरको लागि बढि हुन जान्छ र त्यो ऊर्जा बोसोको रूपमा जम्मा हुन थाल्दछ। जसको कारण खाना खानेबित्तीकै सुत्ने अधिकांश व्यक्तिलाई पेटको अनावश्यक बोसोले सताउन थाल्दछ र त्यो व्यक्तिलाई ग्यास्ट्रिकले पनि सताइरहेको हुन्छ।
आलश्यता
राति खाना खानेबित्तीकै सुतेका व्यक्तिहरूलाई विहान उठ्दा आलश्यता सताउने पनि गर्दछ। राति सुतेको बेला हाम्रो शरीरमा मर्मतसम्भार काम भैरहेको हुन्छ। दिमाग, मुटु, फोक्सो, मांशपेसी, रगत, आदि-इत्यादी सबै पार्टपूर्जाहरूमा मर्मत कार्य भैरहेको हुन्छ, जसको लागि पर्याप्त मात्रामा अक्सिजन र रगतको आवश्यकता पर्दछ। तर यदि कुनै व्यक्ति खाना खानेबित्तीकै सुत्छ भने, राति उसको शरीर मर्मत हुनको लागि चाहिने सबै ऊर्जा, रगत र अक्सिजन उसले खाएको खानालाई पचाउनमै खपत हुन्छ। जसको कारण विहान उठ्दा उसको शरीरका अङ्गहरू ढुख्ने, खुट्टा बाउँडिने समस्या आउने, टाउको दुख्ने अनि ह्याङ्गोभर भएजस्तो हुने हुन्छ।
यसै त ग्यास्ट्रिक र पेटमा थुप्रिएको बोसोले उसको स्वास्थ्य गिराउँदै लगेको हुन्छ, त्यसमाथि आलश्यताले सताउँदा के उसले दिनभरी पूर्ण स्फुर्तीमा काम गर्न सक्ला त?