१४ साउन, काठमाडौं ।
तीन वर्षसम्म लगातार आयव्यय नबुझाएपछि खारेज भएका साना दल अर्कै नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रियामा पुगेका छन् ।

कानुनअनुसार आम्दानी र खर्चको विवरण बुझाउन नसकेर खारेज भएका दल नयाँ नाममा दर्ताका लागि आएको निर्वाचन आयोगले जनाएको छ । तीन तहको चुनावको चर्चा चलिरहँदा दल दर्ता गर्ने क्रम बढ्न थालेको छ ।

बिहीबारसम्म निर्वाचन आयोगमा ९ वटा दलले दर्ताका लागि आवेदन दिएका छन् । तर, यसअघि दर्ता भएका दलसँग झन्डा र लोगो जुधेको तथा विधान संविधानसँग बाझिएकाले कुनै पनि दर्ता हुन सकेका छैनन् । विभिन्न नाम लिएर आयोग पुगेका ९ वटा दलमा गान्धीवादी पार्टी, हाम्रो पार्टी, आधुनिक नेपाल पार्टी, नागरिक समाजवादी पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनएकता पार्टी, राष्ट्रवादी पार्टी, नयाँ शक्ति पार्टी, किराँत पार्टी छन् ।

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी लोगो जुधेका कारण दर्ता हुन सकेको छैन । यसअघि नै दर्ता भएको नवसमाजवादीसँग लोगो जुधेका कारण दर्ता रोकिएको हो । थारु अगुवा राजकुमार लेखीले नागरिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । त्यसैगरी एमाले, राप्रपा हुँदै विभिन्न पार्टी पुगेका सहजाद मियाँले पनि नयाँ पार्टी दर्ताको लागि निवेदन दिएको आयोगले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।