“अस्ट्रेलियामा विश्वकै सबैभन्दा पीरो खुर्सानीको विकास गरिएछ, तर खास के कुराले गर्दा खुर्सानी पीरो हुन्छ, अनि त्यो पीरोलाई हटाउने राम्रो उपाय के हो?”

-कुशल श्रेष्ठ

आँखा अविरल वर्षिरहेको हुन्छ, नाक त झन् झरनासरी बगिरहेको हुन्छ र मुख- मुखको त कुरै नगरौँ, रातो-तातो कोइला राखेजस्तै हुन्छ। अनि हत्तपत्त नजिकको गिलासमा भएको पानी लम्किनुहुन्छ अनि स्वाट्टै पानी पिउनुहुन्छ, केही भएपनि त्यो तातो कम हुने आशामा!

तर, अपसोचको कुरा! पानीले त्यो आगोरुपी पीरोलाई के नै पो कम गर्थ्यो र? तर यदि तपाईँलाई कसैले क्रिमले भरिएको दूध दिएको भए! आखिर पीरोलाई नष्ट गर्ने साधारण उपाय भनेकै दूध हो।

मानिसहरूले खुर्सानीको खेती गरेको पनि ६,००० वर्ष भन्दा बढी भइसक्यो, अझैपनि वैज्ञानिकहरूले खुर्सानीको त्यो पीरोपनामा लुकेको विज्ञानको बारेमा अध्ययन गरिरहेकै छन्। अनि यसले हाम्रो शरीरका इन्द्रीयहरूसँग कस्तो प्रतिक्रिया गर्दछ भनेर पनि अध्ययन जारी नै छ।worlds-hottest-chilli-scorpion-butch-t

सन् १९९० ताका, वैज्ञानिकहरूले मानिसको दिमागमा एक ‘दुखाइ महशुस गर्ने स्नायु’ पत्ता लगाएका थिए, जसले ‘क्याप्साइसिन’सँग प्रत्यक्ष प्रतिक्रिया गर्ने गर्दछ। क्याप्साइसिन यस्तो रसायनिक पदार्थ हो जसले खुर्सानीमा पीरोपना ल्याउने गर्दछ।

तर, विगतका केही वर्षयता वैज्ञानिकहरूले खुर्सानीको सुरुवाती विकासक्रमदेखि नै किन पीरो हुँदै आइरह्यो भन्ने बारे पनि अध्ययन गरेका थिए जुनको उत्तर पनि वैज्ञानिकहरुले पाइसकेका छन्। त्यसपश्चात प्रयोगशालामा नयाँ प्रकारका खुर्सानी पनि बनाएका थिए, जुन साधारण खुर्सानीभन्दा ३०० गुणा बढी पीरो थियो।

वैज्ञानिकहरूले शताब्दीदेखि गर्दै आएका अध्ययन-अनुसन्धानबाट हामीलाई के पनि थाहा भएको छ भन्दा, यो ‘क्याप्साइसिन’ पदार्थ पानी देखि डराउँदछ, यसलाई ‘हाइड्रोफोबिक कम्पाउण्ड’ भनिन्छ। यसको मतलब के हो भन्दा यो पदार्थ पानीसँग घुल्दैन, पानीले यसलाई पखाल्न सक्दैन, तर चिल्लो र बोसोमा सजिलै घुल्न सक्दछ। त्यसैले त पानीले होइन, क्रिमयुक्त दूधले नै खुर्सानीको पीरोलाई हटाउँदछ।

“यस्तो चिज जसमा धेरैभन्दा धेरै बोसो र चिल्लो हुन्छ, जस्तै दही अथवा दूध- त्यस्तो खानेकुराले मात्र खुर्सानीको तातोपनालाई पखाल्न सक्दछ।”, युनिभर्सिटी अफ सिड्नीका बोटबिरुवा सम्बन्धी वैज्ञानिक ‘मार्क पिकक’ले भने। मार्कले सन् २०११ मा विश्वकै सबैभन्दा पीरो खुर्सानी बनाउन मद्दत गरेका थिए, उक्त खुर्सानीको नाम ‘ट्रिनीड्याड स्कोर्पियन बुच टि.’ (Trinidad Scorpion Butch T.) रहेको छ। “मलाई मनपर्ने उपाय भनेको जैतूनको तेल हो, तर यो खाँदा त्यति रमाइलो भने हुँदैन!”- उनले एक पत्रकार सम्मेलनमा खुर्सानीको पिरो हटाउने तरिकाको बारेमा भनेका थिए।

के कारणले गर्दा खुर्सानी पीरो भएको हो ?

खुर्सानीको सबैभन्दा पीरो अथवा तातो भाग भनेको त्यसको बिउ होइन, तर धेरैले खुर्सानीको बिउलाई पीरोको माध्यम मान्दछन्। त्यो बिउलाई ढाक्ने एक सेतो झिल्ली हुन्छ जसलाई ‘प्लाकेन्टा’ (Placenta) भनिन्छ।

तर विकासक्रममा खुर्सानीले किन पीरोको रूप लिँदै गयो त?

धेरै वैज्ञानिकहरूक मान्यता छ कि, खुर्सानीमा हुने क्याप्साइसिनले मूख्यतः स्तनधारी सिकारीको विरोधीको भूमीका खेल्दछ, जस्तै न्याउरी मुसा। “यदि कुनै स्तनधारी प्राणीले खुर्सानी खान्छ भने, त्यसको पाचन प्रक्रियाले बिउलाई पूर्ण रूपले नष्ट गर्दछ।”, मार्क भन्छन्।

तर पछिल्ला केही खोजहरूले भने यसको रहस्य त्यति मात्रै नभएको पत्ता लगाएका थिए। बोलिभियामा अनुसन्धान गरिरहेका अमेरिकी वैज्ञानिकहरूले ‘अति पीरो’ र ‘मध्यम पीरो’ खुर्सानीलाई च्याउजस्ता हानीकारक माइक्रोब्सहरूले कस्तो असर पार्दछ भनेर बुझिरहेका थिए।

खुर्सानी जति धेरै पीरो र तातो भयो, च्याउबाट बच्ने मौका पनि त्यति नै धेरै हुने गर्दछ। त्यसैले खुर्सानीको विकासक्रममा च्याउजस्ता हानीकारक माइक्रोब्सबाट बच्नको लागि तातोपना र पीरोपना बढ्दै गएको भनेर अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका थिए।

तथापी, चराचुरुङ्गीहरूको कुरा गर्दा तिनीहरूको पाचन प्रणाली स्तनधारी प्राणीहरूको भन्दा धेरै फरक हुन्छ। चराचुरुङ्गीहरूलाई क्याप्साइसिनले पनि केही असर गर्दैन, झन् तिनीहरूको पाचन प्रणालीले त खुर्सानीको बिउमा अङ्कुर ल्याउन मद्दत गर्दछ। त्यसैले जब चरा उड्दाउड्दै कतै बिस्ट्याउँदछ भने खुर्सानीको बिउलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न मद्दत गर्दछ।

खुर्सानी खाँदा किन पीडा हुन्छ?

मानिसहरूको लागि खुर्सानी भनेको पीडादायक नै हुने गर्दछ, किनभने क्याप्साइसिन भनेको वास्तवमा एक ‘न्यूरोटक्सिन’ हो। तैपनि संसारभरीका मानिसहरूले दैनिकरूपमा यसको सेवन गरिरहेका हुन्छन्।

खुर्सानी प्रति हाम्रो लगाव किन?

क्याप्सिकनको सेवनले हाम्रो शरीरमा ‘इण्डोरफिन’ नामक हर्मोन पैदा हुन्छ जुन पीरोपनाको बदलामा उत्पादन भएको हुन्छ। यो त्यहि हर्मोन हो जुन यौनक्रिडाको बेला उत्पन्न हुन्छ।

कौतूहलवश, मानिसहरूले त्यस्ता धेरै स्वादलाई मनपराउँछन्, जुन प्राकृतिक रूपमा पीडादायी र खाँदा नमज्जा हुन्छन्। नुनीलो र तीतो पनि त्यस्तो स्वाद हो जुनले मानिसमा नमज्जा पैदा गराउँदछ, तैपनि मानिसहरूले आफ्नो दिमागमा ती स्वादहरूलाई मीठो स्वादको रूपमा परिणत गरिसकेका छन्। क्याप्साइसिन पनि त्यस्तै हो।

खुर्सानी तातो हुन्छ भनेर हामीलाई उल्लू गराइरहेको छ, हाम्रो दिमागले!!

क्याप्साइसिनलाई चिन्ने स्नायुहरूमध्येमा कुनै-कुनै त्यस्ता स्नायुहरू पनि हुन्छन्, जसले शरीरको तापक्रम परिवर्तनको आभास गर्दछ। अनि जब हामी क्याप्साइसिन खान्छौँ र ती स्नायु प्रणाली चालु हुन्छन्, तब तिनीहरूले हाम्रो दिमागलाई तातोपनाको सूचना दिने गर्छन्, त्यसैले नै खुर्सानी खाँदा हामीलाई आगोले पोलेको जस्तो महशुस हुने हो।

हाम्रो शरीरको कुनै पनि अङ्गमा ती स्नायुहरू जति धेरै केन्द्रित भएका हुन्छन्, त्यति नै ती अङ्गहरू क्याप्साइसिन प्रति संवेदनशील हुन्छन्। त्यसैले त यदि हाम्रो आँखामा खुर्सानी पर्यो भने सहिनसक्नु पीडा हुन्छ।

तर, कसै-कसैको शरीर यस्तो हुन्छ कि उनीहरू क्याप्साइसिन प्रति त्यति संवेदनशील हुँदैनन्, चाहे जतिसुकै धेरै नै किन नहोस्। “म यसलाई ‘झूटो दुखाई’ भन्छु!”, मार्क भन्छन्- “खुर्सानीले खासै ठुलो शारीरिक असर गरिरहेको हुँदैन, तर हामीलाई अति पीडा भएको महशुस हुन्छ!”

यो पनि हेर्नुहोस्-

हाइ किन आउँछ?

तनाव कम गर्न खानुस् भेडे खुर्सानी…

के तपाईँलाई नचाहिने ठाउँमा प्वालहरू देख्दा डर लाग्छ? के हो ट्राइपोफोबिया?

औँला पड्काउँदा के हुन्छ त जानिराखौँ!!