३० चैत, काठमाडौं।

पूर्वनवयुवराज हृदयेन्द्रको ब्रतबन्धको खुसी धेरै समय टिक्न पाएन । उता सोल्टी होटेलमा ब्रतबन्धको भोज चलिरहँदा यता पूर्वअधिराजकुमारी प्रेरणा भने अस्वस्थ भएर ओछ्यानमा थिइन । प्रेरणाको अस्वस्थता बढदै गएपछि अहिले उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मस्तिष्कघातका कारण आईसीयूमा राखेर उनको उपचार भइरहेको छ। अकस्मात् बेहोस हुनुअघि उनलाई टाउको दुख्ने गरेको स्रोतले जानकारी दिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

यहि चैत २४ गते सोल्टी होटेलमा आयोजित राजपरिवारको ब्रतबन्ध समारोहमा आफन्त र नातेदारबाहेक १८ सय आमन्त्रित सहभागी थिए । समारोहमा २ हजार मानिस निम्त्याइएको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पेसा-व्यवसायमा संलग्न व्यक्तिहरुका साथै विभिन्न मुलुकका राजदूतहरुको त्यहाँ उपस्थिति थियो। प्राप्त जानकारीअनुसार, साउदी  अरब, कतार, इजरायल, जर्मनी, जापान र श्रीलंकाका राजदूतहरु ब्रतबन्ध समारोहमा उपस्थित थिए।