२४ कात्तिक, धनगढी ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोट हुने सुदूरपश्चिमका खेलाडीलाई अबदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको घोषणा गरेका छन ।

आज आयोजित पत्रकार सम्मेलनमा विष्टले खेलाडीको हितका लागि यो सुविधा प्रदान गर्न लागिएको बताए । निःशुल्क शिक्षाको व्यवस्था विस्तारै अन्य क्षेत्रका खेलाडीलाई पनि प्रदान गर्ने योजना रहेको उनले बताए ।

keshab-kumar-bista-rakhepa

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर महिनामा नै आयोजना गर्ने गरी तयारी अघि बढाइएको विष्टले जानकारी दिए ।

आउने मङ्सिरमा आयोजना गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति भने बोर्ड बैठकले तोक्न लागेको छ, विष्टले भने ‘बजेटका कारण यो खेलकुद प्रतियोगिता रोकिँदैन ।’

हरेक दुई/दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो केही वर्षदेखि तोकिएको समयमा हुन नसकी सर्दै आएको छ ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर–८ गतेदेखि विराटनगरमा गरिने घोषणा यसअघि नै गरिएकोमा यो मितिमा भने प्रतियोगिता हुन नसक्ने देखिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अघि गरिने क्षेत्रीयस्तरका प्रतियोगिता कात्तिक ३ गतेदेखि मङ्सिर ३ गतेसम्म गर्ने घोषणा गरिएकोमा यी प्रतियोगिता स्थगित अवस्थामा रहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले बताए ।

छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०६८ फागुनमा धनगढीमा गरिएको थियो ।