१३ माघ, काँकडभिट्टा (झापा)।
झापाको शान्तिनगरमा खोप लगाएको तीन दिनपछि एक शिशुको मृत्यु भएको छ ।

शान्तिनगर–१ बर्नेका दलबहादुर राईका दुई महिनाका छोरा सुलभ राईको खोप लगाएपछि बिरामी भएर मृत्यु भएको हो ।

माघ ५ गते नियमित खोपअन्तर्गत बिसिजी खोप लगाएपछि शिशुलाई तत्कालै अत्यधिक रक्तस्राव भएको थियो ।

रक्तस्रावपछि उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । उपचारको क्रममा माघ ८ गते विराटनगरमा शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।

शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका कर्मचारी महेन्द्र श्रेष्ठले खोपको सुई लगाएका थिए । बच्चाको मृत्यु खोपमा समस्या भएर हो या प्राविधिक लापरबाहीले भन्नेबारेमा छानबिन सुरु भएको छ ।

शान्तिनगर गाविसका सचिव सुदर्शन बरालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई रु एक लाख ५० हजार राहतबापत उपलब्ध गराउने सहमति गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले बच्चाको मृत्यु खोप वा अन्य के कारणले भएको हो भन्नेबारेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डब्ल्युएचओका प्रतिनिधि समेतको टोलीले छानबिन गरिरहेको बताए । रासस