२७ असार, रामपुर (पाल्पा) । अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए ।

खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन । आज बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार गरिएको छ ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा अरुणखोलाको दोभानमा रहेको भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा खोलामा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पु-याएको हो ।

पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि उनको उद्धार गर्न सकिएको थिएन ।

बालकले इशारा गरेर उद्धारका लागि आफन्तलाई बोलाए पनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले खोलामा पस्न नसक्दा उनको आज बिहान मात्र उद्धार भएको स्थानीयवासी धनबहादुर ठाडाले जानकारी दिए । रासस