९ फागुन, जाजरकोट । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।

यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ ।
यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् । विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ । अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गर्दछन् । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

स्रोतव्यक्ति एक हप्तामा विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेको स्रोतव्यक्ति मनिराम पोखरेलले बताए । गयल हुने शिक्षकको तलव काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक शान्तबहादुर रोकायले बताए । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पु-याएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।

विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा पुगेर विद्यालयमा अभिभावकले काम गर्न बाध्य पारेदेखि सबैले आफ्ना छोराछोरी नियमित विद्यालयमा पठाउन लागेको प्रअ रोकायले बताए । योभन्दा अघिका अध्यक्ष हुदा विद्यालयमा लापरबाहीका कारण लथालिङ्ग थियो , अहिले निकै परिवर्तन आएको प्रअ रोकायले बताए । रासस