१२ भदौ, काठमाडौँ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ ।

मन्त्रालयले हिमाल, पहाड र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा ५० प्रतिशत छन् जो साँझ बिहान के खाने भन्ने समस्यामा छन् । गरिबमा ३० प्रतिशत त्यस्ता छन् जो दुःख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने अवस्थामा छन् ।

त्यसैगरी गरिबीको सङ्घारमा २० प्रतिशत जनता छन् जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा छन् । मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य तथा जातीयताको पहुँचजस्ता विषयलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो । कर्णालीमा धेरै गरिब भेटिएका छन् ।

केहीका बारेमा उजुरी परेकाले आगामी असोजसम्ममा गरिने दोस्रो चरणको सर्वेक्षणमा केही सङ्ख्या घट्न सक्ने मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिए । त्यसपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रवक्ता प्रधानले त्यस क्षेत्रमा कामा सम्पन्न भएपछि अन्य ५० जिल्लामा समेत गरिब पहिचान गर्ने योजना रहेको जानकारी दिए । यसरी गरिबको पहिचान भइसकेपछि सरकारले उनीहरुलाई छिट्टै परिचयपत्र वितरण गरी सक्दो सुविधा उपलब्ध गराउने बताइएको छ । रासस