२२ चैत, काठमाडौँ।

गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ ।

जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ ।

आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ ।

यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।

जसको कारण कहिलेकाहीँ नानीमा सङ्क्रमण भई दृष्टिसमेत गुम्न सक्छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक आँखा चिलाउने, आँसु आउने, सुन्निने, रातो हुनेलगायतका समस्या लिएर आउने बढेको बताउँछन् नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल । राजधानीमा बढ्दो प्रदूषणका कारणले पनि आँखाको बिरामी अझ बढाएको उनको भनाइ छ ।
यस्तो खालको आँखाको समस्या देखिएमा आँखा सफा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चस्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुरबिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।

वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।