समाचार टिप्पणी
राजनीतिक हिसाबले देश यतिबेला ठप्प जस्तै छ । दलहरुबीच संवाद अघि बढेको छैन । संविधान अनुसार आगामी माघ ७ भित्र तीन तहको चुनाव सम्पन्न गर्ने हो भने प्रत्येक मिनेट मिनेटको हिसाब गरेर काम गर्नुपर्छ ।

नेताहरु भाषणमा चुनावको कुरा गरेर थाकेका छैनन् तर त्यसका लागि चाहिने वातावरण बनाउने तर्फ ध्यान दिएको देखिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाको अहिले एउटै बोली छ, ‘शंका नगर्नुस्, चुनाव हुन्छ’ । तर कसरी हुन्छ ? यसका आधारहरु उनीहरु दुबैसँग छैन ।

फाइल तस्बिर

सरकारले संसदलाई त बिजनेश दिन सकेन नै निर्वाचन आयोगलाई पनि खुलेर तयारी गर भन्न सकेको छैन । न मधेशी मोर्चालाई मनाउन सकेको छ न त प्रमुख विपक्षीलाई विश्वासमा लिन । यस्तो बेला कसरी हुन्छ चुनाव ? यो प्रश्नको जवाफ सरकारसँग पनि छैन र उसलाई पनि लागिरहेको छ यस्तै । तर भन्न चाहिँ छोडेको छैन, ‘चुनाव भएर छाड्छ ।’

चुनाव नहुने वित्तिकै काँग्रेससँगको सहमति अनुसार माओवादीले सरकार छोड्नुपर्ने हुन्छ । काँग्रेस नेता डाक्टर शेखर कोईरालाका अनुसार जेठमा स्थानीय चुनाव भए त्यसपछि, नभए बैशाख १ पछि सरकार छोड्ने लिखित सहमति माओवादी केन्द्रसँग भएको छ ।

यो पढ्नुस: सहमतिपछि निर्वाचनको मिति घोषणा हुन्छ: प्रचण्ड

यसले अब प्रचण्ड सरकारको आयू लगभग समाप्त हुने संकेत देखिएको छ । यसपछि के हुन्छ त ? यसपछि दुई वटा विकल्प देखिएको छ ।

सोझै प्रतिनिधि सभा चुनाव

२०७४ माघ ७ भित्र चुनाव हुन सकेन भने संविधान पूर्णरुपमा असफल हुन्छ । १० बर्षे सशस्त्र द्वन्द्व, दुई दुई पटकको संविधानसभा चुनाव र लामो रस्साकस्सी पछि जारी भएको संविधान असफल हुन नदिन दलहरुले सोझै प्रतिनिधि सभाको चुनाव गर्ने संकेत अहिले दिइरहेका छन् ।

यो पढ्नुस: पुरानै निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

काँग्रेस केन्द्रीय सदस्य कोइराला भन्छन्, ‘देश गम्भीर संकटबाट माथि उठ्छ भने आगामी कात्तिक मंसिरमा प्रतिनिधि सभाको चुनाव गर्न सकिन्छ । उनी पनि अहिलेको तयारीले स्थानीय चुनाव हुने छाँट देख्दैनन् ।

प्रतिनिधि सभाको चुनाव हुने हो भने मधेशी मोर्चापनि चुनावमा जाने संकेत यसअघि नै दिइसकेको छ । त्यसैले दलहरुले सरकारलाई पनि राष्ट्रिय सरकारमा रुपान्तरण गरेर प्रतिनिधि सभाको चुनाव हुन सक्ने संभावना बढेको छ ।

देउवा वा ओली नेतृत्वको सरकार

प्रचण्ड नेतृत्वको सरकार ढलिसकेपछि माओवादी केन्द्रसँगको सहमति अनुसार प्रधानमन्त्री बन्ने पालो शेरबहादुर देउवाको हो । यदि प्रचण्डले सहजै सत्ता हस्तान्तरण गरे भने त्यो सफल होला ।

अन्यथा राजनीतिमा कोही पनि स्थायी सत्रु र मित्र हुँदैन भन्दै प्रचण्ड र ओलीको मिल्ती यसअघिको जस्तै प्रगाढ बन्न पुग्यो भने देउवाको सत्तारोहण सपना मात्रै पनि हुन सक्छ । काँग्रेस र मधेशी मोर्चा बाहेकको गठबन्धन तयार भए ओलीको प्रधानमन्त्री हुने संभावना कम छैन ।

त्यसो त बेला बेला ओलीले एमाले नेतृत्वको सरकारले चुनाव गराउँछ भन्दै आफ्नो पुनरावृत्तिको संकेत पनि दिँदै आएका छन् ।