१२ वैशाख, काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताले आफ्नो आवश्यकता के हो ? पहिचान गरी आफ्नो लागि आफ्नै नीति, योजना तथा कार्यान्वयन गर्ने सक्ने गरी अधिकारसम्पन्न बनाउने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् ।

उनले भने, “जनताको हरेक कुरामा सहभागितामूलक बन्ने प्रक्रिया नै विकेन्द्रीकरण हो, विकेन्द्रीकरणले जनतालाई बलियो र सार्वभौममात्र बनाउँदैन तलको (स्थानीय निकाय) प्रजातन्त्रलाई पनि बलियो बनाउँदछ, तलको प्रजातन्त्र बलियो भयो भने माथिको प्रजातन्त्र आफैँ बलियो हुन्छ ।”

नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचन २०७४ को घोषणापत्र आज पार्टी कार्यालय सानेपामा सार्वजानिक गर्दै सभापति देउवाले गाउँ-नगरमा भिजेको प्रजातन्त्रले नै समुन्नत नयाँ नेपालको समृद्धि हुन्छ भने।

पार्टीले घोषणा तयार गर्न पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले ‘हामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने नेपाली काँग्रेस’ भन्ने मूल नाराका साथ आफ्ने स्थानीय तह निर्वाचन घोषणापत्र जारी गरेको गरेको हो ।

उनले गाउँ-नगरको आवश्यकता काठमाडौँको सिंहदरबारलाई थाहा नहुने चर्चा गर्दै अब सिंहदरबार केन्द्रित अधिकारलाई स्थानीय तहबाटै सञ्चालन गर्न स्थानीय निर्वाचनबाट सम्भव हुने धारणा राखे ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनमा सबै दलले भाग लिन सक्ने वातावरण मिलाउन पार्टीले वार्ता र संवाद जारी राखेको जानकारी दिए।

नेपाली काँग्रेसको घोषणापत्र संविधानले स्थानीय तहलाई निर्दिष्ट गरेका विभिन्न विषयका २२ वटा अधिकारको सेरोफेरोमा रही यसका नीति तथा कार्यक्रममा आधारित छ । अगामी दश वर्षभित्र दश प्रतिशतले आर्थिक वृद्धि गर्न महत्वकाङ्क्षा घोषणापत्रले लिएको छ । तीन भागमा केन्द्रित घोषणापत्रमा सिंहदरवार केन्द्रित शासन, प्रशासन, योजना र विकासका कार्यक्रमलाई गाउँका लैजान जोड दिइएको छ ।

कार्यक्रममा घोषणापत्र तयारी समितिका संयोजक आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै प्रथम जनननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले स्थानीय स्वायत्त शासनमा लागू गर्दै गाउँ-नगरलाई बलियो बनाउन सुरुवात गरेको बताए ।

उनले घोषणापत्रमा उल्लिखित प्रतिबद्धतालाई सङ्कल्पका रुपमा पूरा गरिने जानकारी दिँदै काँग्रेस उदार चित्तले संविधान संशोधनको पक्षमा रहेको जानकारी दिए। घोषणापत्र सार्वजानिक कार्यक्रममा नेकाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।