२८ असार, रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का स्थानीयवासी दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा सोमबार मृत्यु भएको हो ।

भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गणेशकुञ्जका भट्ट माडी नगरपालिकामा कामको सिलसिलामा आउँदै गर्दा गाडीभित्रै बेहोस भएका थिए ।

नेकपा (एमाले) माडी नगर कमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको बसन्तपुरमा आइपुग्दा सबै यात्रु झरेपनि उनी नझरेपछि हेर्दा बेहोस देखेर तत्कालै स्थानीय बघौडा अस्पताल पु-याइएको थियो । पौडेलका अनुसार उनी एमाले माडी नगर कमिटीका सदस्य थिए । सोही दिन घरमा रोपाइँको समेत तयारी गरिएको उनले बताए ।

तत्कालै उनको उपचारका लागि बघौडा अस्पतालमा पु-याइएकामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । विदेशमा रहेका छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको पौडेलले जानकारी दिए । रासस